×

वीरगञ्ज । संसारमा भएका विभिन्न किसिमका जीवजन्तुहरुमा सबैभन्दा धेरे हिस्सा कीराहरुले ओगटेका छन् । तर धेरे कम प्रजातिका तर कीराहरु मात्र बालीनालीको लागि हानीकारक छन् । बाँकी सबै बालीनाली तथा समस्त मानव जातिका लागि लाभदायक मानिन्छन् ।

अर्कोतिर खाद्य श्रंखलामा एउटा जीव अर्कासँग निर्भर रहन्छ । त्यसैले खाद्य श्रंखलाका कुनै एउटा जीव या जन्तुमा दुृष्प्रभाव पर्याे भने स्वतः  सम्पूर्ण श्रृंखला खलबलिन्छ ।  त्यसको असर अन्ततः मानिसमा पर्न जान्छ । त्यसैले बालीनालीमा रोग तथा कीरा देखिंदैमा विषादीको प्रयोग गर्नु पनि बुद्धिमानी हँदैन । 

बालीनालीमा पनि निश्चित हदसम्म रोग कीरा सहन सक्ने क्षमता हुन्छ र त्यो समय भित्रै विषादी प्रयोग गरियो भने आर्थिक नोक्सानीको साथसाथै जीवजन्तुको लागि आवश्यक पर्ने आहाराको विनास हुन्छ र झन डरलाग्दा अवस्थाको सृजना हुन सक्छ । जसले गर्दा सम्पूर्ण कृषि पर्यावरणमा नराम्रो प्रभाव पर्ने जोखिम हुन्छ । 

नियन्त्रण (व्यवस्थापन) भन्नाले पूर्णरूपमा सखाप पार्नु नभई खाद्य श्रृखला, कृषि पर्यावरण र संपूर्ण वातावरणमा असन्तुलन नहुने गरी एक भन्दा बढ़ी बाली शत्रु नियन्त्रणका उपायहरू अवलम्बन गरी शत्रुजीवको संख्यालाई आर्थिक हानीको तह भन्दा तल  राख्ने पद्धति हो जसले गर्दा रासायनिक विषादीको प्रयोगमा क्रमश कमी आउँदछ र रासायनिक पदार्थहरूको प्रयोगले हुनसक्ने दुष्प्रभावबाट बच्न सकिन्छ ।

बाली नालीमा लाग्ने विभिन्न जीवजन्य रोग नियन्त्रणको लागि प्रयोग हने रासायनिक विषादीहरु मानिस र पशुपंछीका लागि समेत घातक हुन सक्छन् । हावापानी, माटो लगायत समग्र पर्यावरणलाई नै यसले प्रदुषित गर्न सक्ने भएकोले त्यस्ता विषादीहरु प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्ने हुन्छ ।

असावधानी पूर्वक प्रयोग गर्दा प्रयोगकर्ता र उपभोगकर्तालाई प्रत्यक्ष प्रभाव त पर्छ नै साथै त्यस्ता वस्तुहरुको अवशेषयुक्त उपजहरु उपभोग गर्दा दीर्घकालीन रूपमा समेत मानव स्वास्थ्य र वातावरणमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पर्छ । जसको असर हामीले महशुस समेत गर्न थालिसकेको छौं ।

त्यस्ता घातक वस्तुहरु र त्यस्ता वस्तुहरुको अवशेषयुक्त खाद्यान्न उपभोगबाट पर्न सक्ने अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु र त्यसबाट बच्ने उपायहरुको बारेमा सचेत हुन र अरूलाई समेत सचेत गराउन सम्पूर्ण कृषक महानुभावहरु, उपभोक्ता वर्गहरु, रासायनिक विषादीको कारोवारमा संलग्न व्यापारीवर्ग तथा सम्पूर्ण शिक्षित, बौद्धिक, राजनीतिक बर्ग एवम् आम जनसमुदायको दायित्व हो ।

विषादी दुरुपयोगका कारणहरू:
१. अनावश्यक रूपमा विषादीको प्रयोग ।
२. विषादीको गलत छनौट ।
३. अत्यन्त खतरनाक (Extremely hazardous) र चौडा दायरा (Broad spectrum) भएका विषादीको प्रयोग ।
४. माछा मार्नको लागि घातक विषादीको प्रयोग ।
५. सिफारिस मात्रा भन्दा बढी विषादी प्रयोग ।
६. खाद्यान्न तथा तरकारीको भण्डारणमा विषादीको प्रयोग ।
७. फलफूल तथा तरकारीलाई चम्किलो र ताजा देखाउन विषादी वा रसायनको झोलमा डुबाउने प्रचलन (जस्तैः  भण्टा, परवल, रामतोरिया, च्याउ आदि) ।
८. विषादी प्रयोग गरी सकेपछि खान योग्य हुने बेला सम्मको पर्खनु पर्ने समय (Waiting period) को पालना नहुनु।

९. विषादीका खाली प्याकेट तथा डिब्बाहरू सार्वजनिक ठाउँ र खोलानालामा जथाभावी फाल्नु ।

१०. विषादी प्रयोग गर्दा वा विषादी उत्पादन, ढुवानी र बेचविखन गर्दा सुरक्षात्मक पहिरनको प्रयोग नगर्नु नगराउनु ।

११. विषादी चलाइ सकेपछि लामो समयसम्म प्रदुषित कपडामै रहनु, धुमपान गर्नु र खाने कुरा खानु ।

१२. सामाजिक दायित्व बिनाको व्यापार गर्ने केहि विषादी व्यापारीहरूको मनसाय ।
१३. विषादीलाई औषधिको उपमा दिनु ।
१४. विषादी प्रयोगकर्तासँग विषादीको सुरक्षित प्रयोग सम्बन्धी ज्ञानको अभाव वा हेलचेक्रयाई असुरक्षित भण्डारण ।

१५. गुणस्तरहिन/म्याद नाघेका विषादीको प्रयोग ।

१६. शुरूमै कडा विषादीको प्रयोग ।

१७. म्याद नाघेका विषादीहरु नष्ट गर्ने गलत तरिका ।

१८. खुल्ला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रणमा कठिनाई ।

१९. जनचेतनाको कमि (खास गरी उपभोक्तामाझ विषादीको नकारात्मक प्रभाव बारे चेतनाको कमि ) ।

२०. मिसावट गरिएका र निम्न स्तरका विषादीको बाहुल्यता ।

२१. म्याद नाघेका विषादी जम्मा हुँदै जानु ।

२२. रासायनिक विषादीको विकल्प दिन नसक्नु र भएको पनि त्यति प्रभावकारी नहुनु । 

२३. जैविक विषादीको बजार व्यवस्थापनमा कठिनाई ।

२४. अत्यन्त न्यून मात्रामा मात्र सेक्स फेरोमेन, फुड ल्युर, वनस्पतिजन्य र सुक्ष्म जीवजन्य विषादीको आयात हुनु ।

२५. IPM तथा Organic उत्पादनको प्रमाणीकरणमा कठिनाई हुनु ।

कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग कम गर्न आगामी दिनमा चाल्नु पर्ने कदमहरु :–

(क) अल्पकालीन तथा तुरुन्तै कार्यान्वयन गर्नुपर्नेः–

१. विषादी बेचबिखन अनुमति पाउनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्ने तथा हाल संचालनमा रहेका बिषादी बिक्रीकर्ताको क्षमता विकासमा जोड दिने ।

२. आयातित सबै विषादीहरुको लेवल (सूचकपत्र) कम्तिमा नेपाली भाषामै र प्रष्टसँग पढ्न सकिने गरी व्यवस्था गर्ने ।

३. म्याद नाघेका, प्रतिबन्धित, मिसावट गरिएका र न्यून स्तरका विषादीहरुको बेचबिखन तथा प्रयोगलाई नियमन गर्न विज्ञ तथा प्रयोगशालाको तुरुन्त व्यवस्था गरी परिचालन गर्ने ।

४. बढी संख्यामा विषादीहरू पञ्जिकृत गरिनुले पनि विषादी आयात तथा प्रयोगमा वृद्धि भएकोले सो संख्या सीमा तोकी अन्यलाई अपञ्जिकृत (Deregistration) गर्ने ।

५. विषादी छर्कने काम तालिम तथा इजाजत प्राप्त व्यक्तिले मात्र गर्न गराउन पाउने व्यवस्था गर्ने ।

६. जैविक मल एवं विषादीमा सरकारी अनुदानको व्यवस्था गरेर कृषकहरुलाई सो तर्फ आकर्षित गर्ने ।

(ख) दीर्घकालीन तथा नीतिगत रुपमा गर्न सकिने :–

१. नेपालको बाली संरक्षण दीर्घकालीन रणनीति निर्माण गर्ने र त्यसकै आधारमा ऐन, नियम तथा नियमावलीहरुको संशोधन गरी समय सापेक्ष बनाउने ।

२. जैविक तथा वनस्पतिक विषादी तथा मलहरुमा सहज सरकारी अनुदान दिने व्यवस्था गर्ने ।

३. निश्चित संख्यामा अत्यावश्यक रहेका सुरक्षित जैविक तथा प्रांगारिक विषादीहरु मात्र पञ्जीकृत गर्ने/गराउने ।

४. रासायनिक विषादीहरुको अवशेषका कारण उपभोक्ता तथा पर्यावरणमा पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असर बारेमा आवधिक योजना निर्माण गरी अध्ययन, अनुसन्धान, पैरवी, जनचेतना तथा जागरण अभियानहरु संचालन गर्ने ।

५. विश्वव्यापी रुपमा गरिएका प्रांगारिक तथा विषादी रहित खेतीका प्रयासहरुको अवलम्बन, सोको अध्ययन, अनुसन्धान गर्ने/गराउने ।

सन्दर्भ सामग्री :- १. कृषि डायरी २०८०, कृषि सुचना तथा प्रशिक्षण केन्द्र, हरिहर भवन , ललितपुर नेपाल । २. परशुराम अधिकारी (२०७६) , रसायनिक विषादी न्यूनिकरण गर्ने उपायहरु , प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर नेपाल । ३. कृषक सहयोगी पुस्तिका, ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण (किसान) परियोजना, सानेपा, ललितपुर, नेपाल ।

(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।) 

Back to top