×

वीरगञ्ज ।  नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले क्यूआर लगायत विद्युतीय माध्यमबाट विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पमेन्टको भुक्तानी प्राप्ति र भुक्तानी जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

भुक्तानी प्रणाली विभागले उक्त व्यवस्था नगर्दै नेपालमा भुक्तानी प्रणाली सञ्चालकहरूले भुक्तानी प्राप्त गर्न सुरु गरेका थिए ।

भुक्तानी प्रणाली विभागले भुक्तानी जारी गर्न सक्ने र विदेशी विनिमय व्यवस्थापन विभागले भारतमा क्यूआर र विद्युतीय माध्यमबाट नेपालीले गर्ने कारोबारको सीमा तोकेको छ । यससँगै अब नेपालीले पनि भारतमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने छन् ।

भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

Back to top