×

वाराणसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा वाराणसीबाट स्ट्यान्ड अप कमेडियन तथा युट्युबर श्याम रङ्गिलाले समेत लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

सोसम्बन्धीमा सोसल मिडियामा जानकारी दिँदै उनले एक्समा लेखेका छन्, “तपाईँहरू सबैको माया र सहयोगबाट नियमअनुसार सबै प्रक्रिया पूरा गरेर मैले उम्मेदवारी दर्ता गरेको छु । मेरो यो देशको लोकतन्त्रप्रति अझै पनि भरोसा रहेको छ । अब आगामी दुई तीन दिन महत्त्वपूर्ण हुनेछन् । तपाईँहरू सबैको सहयोगका लागि धेरै धन्यवाद ।”

यसअघि उनले उम्मेदवारी दिन नपाएको भन्दै गुनासो गरेका थिए । उनका फेसबुक पेजमा  आठ लाखभन्दा बढी र युट्युबमा करिब साढे ९ लाख फलोअर्स छन् ।

प्रधानमन्त्री मोदीले पनि मङ्गलवार वाराणसीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी यसपालि तेस्रो पटक सो क्षेत्रबाट चुनाव लड्दै छन् ।

उम्मेदवारी दर्ता गर्ने क्रममा उनले सोसल मिडियामा भनेका थिए, “काशीको मेरो परिवारजनमा हृदयबाट नै आभार । वाराणसीबाट लगातार तेस्रो पटक उम्मेदवारी दर्ता गर्दा निकै उत्साहित छु । बितेका १० वर्षमा तपाईँहरू सबैबाट अद्भुत स्नेह र आशीर्वाद मिलेको छ । त्यसले मलाई निरन्तर सेवा भाव र सङ्कल्पको साथ काम गर्नका लागि प्रेरित गरेको छ । यहाँहरूको भरपुर समर्थन र सहभागिताले म आफ्नो तेस्रो कार्यकालमा पनि नयाँ ऊर्जा—शक्तिका साथ यहाँको चौतर्फी विकास र जनताको कल्याणमा जुटिरहनेछु ।”

Back to top