×

वीरगञ्ज । वीरगञ्ज देश कै ठूलो सहर मध्ये एक भए पनि यहाँ पर्यटकहरूलाई टिकाइ राख्न निकै कठिन हुन्थ्यो । व्यावसायिक काम बाहेक यहाँ आउनेहरू अतिरिक्त एक दिन पनि बिताउन रुचाउँदैन थिए । वीरगञ्जमा उनीहरूलाई रोक्ने कुनै रमणीय पर्यटकीय स्थलको कमी मात्रै थिएन मनोरञ्जनका लागि समेत स्तरीय ठाउँहरूको अभाव थियो । तर, पछिल्लो समय यो बदलिएको छ । यहाँ धार्मिक पर्यटकीय स्थलसँगै मनोरञ्जनका लागि समेत प्रशस्तै पूर्वाधारहरू विकसित हुँदै गएका छन् ।

विकसित भएको त्यस्ता पूर्वाधारहरूमध्ये एक हो क्यूएफएक्स सिनेमा हल । वीरगञ्जको प्रमुख व्यापारिक केन्द्र आदर्शनगरस्थित बहुउद्देश्यीय स्काइलाइन मलमा सञ्चालनमा आएको क्यूएफएक्स सिनेमा हल अहिले युवाहरूका लागि मात्र नभएर सबै उमेर समूहका व्यक्तिहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।

विश्व स्तरीय सेवा सुविधा, साउन्ड क्वालिटी, रिक्लाइनर सिटसहित एकै पटक तिन वटासम्म चलचित्र चल्न सक्ने क्यूएफएक्स सिनेमा हलले वीरगञ्जसहित जिल्लाका अन्य स्थानीय तह, बारा, रौतहट, मकवानपुर जस्ता छिमेकी जिल्ला र सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतियासमेतका स्थानीय समेतलाई आकर्षित गर्ने गरेको छ । मधेस प्रदेशकै प्रथम र एक मात्र मल्टीप्लेक्स क्यूएफएक्स नेपालकै सर्वोत्कृष्ट सिनेमा हल हो । 

काठमाडौँ, पोखरा, नारायणघाट र विराटनगरलगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्यूएफएक्स अहिले सिनेमा प्रेमीहरूको प्रथम रोजाई बनेको छ । क्यूएफएक्स नहुँदा सिनेमा हेर्न हेटौँडा र काठमाडौँ जाने बाध्यताको अन्त्य भएको सुनाउँछन् स्थानीय युवा राजन रौनियार । ‘वीरगञ्जमा भएका हलमा कुनै सुविधा थिएन । च्यातेको सिट, गन्हाउने वातावरणका कारण हल भित्र प्रवेश गर्न समेत मन लाग्थेन । परिवारलाई लिएर जानु त धेरै ठूलो कुरा हो,’ रौनियारले भने, ‘फिल्म हेर्न मन लागे हेटौँडा र काठमाडौँ जानुको विकल्प थिएन । तर अहिले क्यूएफएक्स खुलेदेखि फस्ट क्लास अनुभवका साथ फिल्म हेर्न पाइएको छ ।’

नर्सिङ अध्ययनका लागि नारायणघाटबाट वीरगञ्ज आएकी सुनिता रानाभाटको पनि अनुभव केही उस्तै छ । ‘यहाँ आएदेखि मनोरञ्जन गर्ने ठाउँको खाँचो हुँदा बिदाको दिन पनि होस्टेलमै बसेर बित्थ्यो । फिल्म हेर्न जाऊँ भने हलहरू सुरक्षित छैनन्, केटी हेरेपछि जिस्काउँछन् भनेर सुनेको थिएँ, त्यसैले जान डर लाग्थ्यो । यद्यपि क्यूएफएक्स सञ्चालनमा आएदेखि फिल्म हेर्न र बिदा मनाउन अलि सजिलो भएको छ । हल सफा र गुणस्तरीय मात्र छैन पूर्ण रूपले सुरक्षित पनि छ,’ रानाभाटले भनिन् ।

क्यूएफएक्सले उपलब्ध गराउँदै आएको लचिलो समयका सोहरूका कारण पेसागत वर्गलाई पनि सजिलो भएको छ । वीरगञ्जमा रहेका पुराना सिनेमा हलहरूले ६ बजे पछिको सो नै नराख्दा अफिसबाट ढिलो निस्किनेहरूलाई शनिवार र बिदाको दिन कुर्नुपर्थ्यो । अहिले क्यूएफएक्सले उपलब्ध गराएको लचिलो समयका कारण उनीहरूलाई पनि सहज भएको छ । ‘अफिसबाट निस्कँदा निस्कँदै ७ बज्थ्यो, परिवारका सदस्यसँग क्वालिटी टाइम बिताउने कुनै उपाय नै थिएन । हिजो आज क्यूएफएक्सले गर्दा अलि सहज भएको छ । अब अफिसबाट ढिलो निस्के पनि क्यूएफएक्सको रातीको सो जान मिल्छ,’ युवा उद्यमी हिमांशु बरनवालले भने ।

अनलाइन मार्फत टिकेट काट्ने सुविधाका कारण पनि धेरै सहज भएको बरनवालको भनाई छ । अन्य हलमा पुगेपछि लाइन बसेर टिकेट काट्नुपर्ने झन्झट पनि क्यूएकएक्स आएदेखि अन्त्य भएको उनले सुनाए । ‘मोबाइलमा एप खोल्यो, आफूले चाहेको सिट र समय रोजेर टिकेट काट्यो । पैसा पनि अनलाइन नै भुक्तानी गर्न मिल्छ । क्यूएफएक्सले धेरै सहज भएको छ,’ उनले भने ।

क्यूएफएक्स  सिनेमा हलका कारण वीरगञ्जको आर्थिक गतिविधि समेत चलायमान भएको छ । कोभिडका कारण प्रभावित व्यापार व्यवसायलाई थोरै भए पनि क्यूएफएक्सले उकास्न सहयोग पुर्‍याएको बताउँछन् वरिष्ठ पत्रकार राम कुमार सर्राफ । उनी भन्छन्, ‘सुस्ताएको वीरगञ्ज बजारमा ठूलो लगानी गरेर क्यूएफएक्स र स्काइलाइन मलका सञ्चालकहरूले अन्य उद्यमीलाई पनि हिम्मत दिएका छन् । अहिले अन्य उद्यमी पनि ठूलो लगानी लगाउन हौसिएका छन् ।’ क्यूएफएक्स र स्काइलाइनले आदर्शनगर क्षेत्रमा छुट्टै रौनक पनि थपेको उनको भनाई छ ।

स्थानीयहरूले गरेको विश्वासबाट क्यूएफएक्सका सञ्चालकहरू पनि खुसी छन् । आफूले अपेक्षा गरेको भन्दा धेरै राम्रो प्रतिक्रिया आएको बताउँछन् क्यूएफएक्सका सह-सञ्चालक प्रतीक अग्रवाल । ‘खुलेको केही महिना मै वीरगञ्जवासीले हामीलाई धेरै माया र विश्वास गर्नुभएको छ । उहाँहरूको सुझाव अनुसार हामीले चलचित्र हेर्ने अनुभवमा थप सुधार गर्दै गएका छौँ । आगामी दिनमा यसलाई अझै राम्रो बनाउन हामी प्रतिबद्ध छौँ,’ अग्रवालले भने ।

अग्रवालका अनुसार क्यूएफएक्स विज्ञापनको केन्द्र पनि बन्दै गएको छ । चलचित्र हेर्न आउनेहरू समक्ष आफ्नो व्यापार व्यवसायको समेत प्रचार होस् भन्ने उद्देश्यका साथ स्थानीय व्यवसायीहरू विज्ञापनका लागि पनि क्यूएफएक्सलाई रोजिरहेको उनले बताए ।

Back to top