×

बारा । बाराको बिश्रामपुर गाउँपालिका क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक र एक नेपाली युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार बरैनिया बजार क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय प्रसौनी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज तथा इलाका प्रहरी कार्यालय छतवाको संयुक्त टोलीले भारतको मोतिहारी जिल्ला हरपुर पञ्चायत–६ निवासी २१ वर्षीय राकेश कुमार साहलाई पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठी गाउँ निवासी २० वर्षीय अजित पटेललाई ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले राकेशको शरीर खानतलासी गर्दा उनले लगाएको कालो हाफ पाइन्टको अगाडिको बायाँ खल्तीबाट सेतो प्लास्टिकमा प्याक गरिएको १७.३९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीले घटनास्थलबाट BR05BT3756 नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। बरामद लागुऔषध, मोटरसाइकल तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय छतवामा राखिएको जनाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Back to top