×

वीरगञ्ज । सत्ता गठबन्धनमा साथ रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबिच तिक्तता बढेको छ ।

गठबन्धनबाट पाएको आश्वासन हावामा उड्न थालेको बेला नेकपा एसका अध्यक्ष नेपाल एमाले अध्यक्ष ओलीप्रति बढी आक्रामक बनेका छन् । एमाले अध्यक्ष ओलीलेपनि एसलाई दलको रूपमा स्विकार्न समेत चाहिरोकेका छैनन् । गठबन्धनमा रहँदाको दोस्रो उपलब्धिको रूपमा प्राप्त गरेको सुदूरपश्चिम प्रदेशको सरकारमा एमाले सहभागी नहुने भएपछि नेपालको आक्रोश बढेको छ ।

एमाले अध्यक्षसित आक्रोशित बनेका एस अध्यक्ष नेपालले गौरमा सत्ता उथलपुथल गर्ने धम्की दिएको २४ घण्टा नबित्दै काठमाडौँमा ‘केपी ओली क्रिकेट प्रतियोगिता,’ ‘केपी ओली फुटबल टुर्नामेन्ट’ जस्ता प्रतियोगिताहरूको आयोजनामाथि प्रश्न उठाएका छन् । एमालेको शनिवार काठमाडौँमा पार्टीको प्रतिनिधि परिषद्को पहिलो बैठक सुरु भएको छ ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वामपन्थी एकता वा अन्य कुनै पनि नाममा राजनीतिक सक्तीहरूबिच ध्रुवीकरण उचित नहुने बताएका छन् । ‘कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक हुँदैन,’ उनले भने, ‘मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरू माझ सहकार्य आवश्यक छ ।’

‘यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एक ठाउँमा हुन सक्ने छन्,’ उनले भने, ‘आजका दिनमा भने सबै सकारात्मक शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नु बढी महत्त्वपूर्ण छ ।’

सत्तासीन माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी जसपाबिच समाजवादी मोर्चा बनाउने सहमति भएको छ । ओलीले हाल समाजवादी मोर्चाको सम्भावना नरहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।उनले निषेधको राजनीति गर्न उचित नहुने पनि बताएका छन् ।

कम्युनिस्ट पार्टी स्थापनाको ७५ औँ वर्षको अवसरमा एमालेले प्रतिनिधि परिषद्को बैठक आयोजना गरेको हो । गठबन्धनमा भएको सहमति कार्यान्वयनमा एमाले अध्यक्ष ओली प्रमुख बाधक रहेको एस अध्यक्ष नेपालको आरोप छ ।‘गठबन्धनमा हेप्ने प्रवृत्ति नरोकिए सत्तालाई उथलपुथल गर्न सक्छु’ नेपालले भने, एस स्वाभिमानको साथ अगाडी बढेको छ । काँग्रेससितको गठबन्धन भङ्ग गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले एमालेसित गठबन्धन गरी सरकार गठन गरेपछि मात्र नेता नेपालसित सम्पर्क गरिएको थियो ।

पार्टीको आन्तरिक दबाबको कारण सत्ता गठबन्धनमा एस सहभागी भए पनि सहभागिताको क्रममा भएको सहमति कार्यान्वयन नभएपछि नेपाल आक्रोशित बनेका हुन् ।सुदूरपश्चिम प्रदेशमा सरकार गठनको क्रममा काँग्रेससित तालमेल गरी नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा समर्थन गरेर एसले सत्ता छाड्ने सङ्केत गरे पनि दोस्रो दिन नै ‘यू टर्न’ भएको थियो ।

सत्ता गठबन्धनमा रहेको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कारण सरकार दबाबमा रहेको बेला नेकपा एसले दिन थालेको धम्कीले चुनौती थपिएको नेताहरू बताउँछन् ।

Back to top