×

वीरगञ्ज । जसपा नेपालबाट फुटेर अशोक राईकाे नेतृत्वमा बनेकाे नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई आफ्नाे दलकाे समर्थन निरन्तर जारी रहने जनाएकाे छ ।

काठमाडौंमा अध्यक्ष राईकाे अध्यक्षतामा बसेकाे जसपाकाे संसदीय दलकाे बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलकाे समर्थन निरन्तर जारी राख्ने निर्णय गरेकाे जसपाका उपमहासचिव तथा संघीय सांसद प्रदीप यादवले जानकारी दिएका छन् ।

जसपाका महासचिव इस्तियाक राईले जारी गरेकाे प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलकाे बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेकाे उल्लेख छ ।

यसअघि साेमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेकाे जसपालाई दल दर्ताकाे प्रमाण पत्र प्रदान गर्दै दलकाे मान्यता दिएकाे थियाे । जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयाेगले जनाएको थियाे ।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयाेगमा निवदेन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन् ।

Back to top