×

वीरगञ्ज । वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिरमा महाआरती सम्पन्न भएको छ ।

रामनवमीको अवसरमा गहवामाई मन्दिरमा मङ्गलवार पहिलो पटक निकालिएको गहवामाईको निशानसहितको डोली यात्राको सफलतापश्चात् आज महाआरती गरिएको हो । 

गहवामाई मन्दिर परिसरमा सामूहिक रूपले महाआरती गरिएको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार साहले जानकारी दिए ।

पर्सा, बारा, रौतहटलगायत सीमावर्ती भारतीय सहर रक्सौललगायतका स्थानबाट समेतबाट श्रद्धालुहरू आएको साहको भनाई छ । 

महाआरतीलाई व्यवस्थित तरिकाले सभ्य र सफल बनाउन कडा सुरक्षाको समेत व्यवस्था गरिएको थियो । महाआरतीमा अत्यधिक भिड हुने र सोहीलाई मध्यनजर गर्दै विशेष सुरक्षा साथ महाआरती गर्न लागिएको उनले बताए । आरतीमा सुरक्षाका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि परिचालित थिए ।

महाआरतीमा हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी रहेका छन् । अध्यक्ष शाहकै सभापतित्वमा भएको महाआरतीलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महाआरतीले टेवा पुगेको दाबी गरे । उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कायम गर्न धर्म र अध्यात्मका बारेमा जान्नुपर्ने आवश्यकता औँल्याए । 

सोही अवसरमा रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रतीक दैनिकका संवाददाता राधेश्याम पटेल, पर्सा अनलाइनकी विमला गुप्ता लगायतका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।


 

Back to top