×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । जिल्लाको दुई छुटाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।

आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुई वटा फार्म घर जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरा पालन गरेको दुई वटा फार्ममा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

विद्युत् सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडा वर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो ।

यसै गरी, गए राति नै कविलासी नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठ घर नष्ट भएको छ । आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।

Back to top