×

वीरगञ्ज । वीरगञ्जको इतिहाससँग जोडिएको गहवामाई मन्दिरमा आज ‘महाआरती’ को आयोजना गरिएको छ । मङ्गलवार पहिलो पटक निकालिएको गहवामाईको निशानसहितको डोली यात्राको सफलता पश्चात् आज बुधवार साँझ महाआरती गर्न लागिएको हो ।

रामनवमी तथा चैते दशैको अवसरमा आज साँझ ६ बजेदेखि गहवामाई मन्दिर परिसरमा सामूहिक रूपले महाआरती गरिने माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले जानकारी दिए ।

पर्सा, बारा, रौतहटलगायत सीमावर्ती भारतीय सहर रक्सौललगायतका स्थानबाट समेतबाट श्रद्धालुहरू आउने महाआरतीका सम्पूर्ण तयारी समेत पूरा भइसकेको शाहले बताए । 

महाआरतीलाई व्यवस्थित तरिकाले सभ्य र सफल बनाउन कडा सुरक्षाको समेत व्यवस्था गरिएको छ । महाआरतीमा अत्यधिक भिड हुने र सोहीलाई मध्यनजर गर्दै विशेष सुरक्षा साथ महाआरती गर्न लागिएको उनले बताए । आरतीमा सुरक्षाका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटाइने उनको भनाई थियो ।

यसअघि मङ्गलवार समितिको आयोजनामा वीरगञ्जको इतिहासमा पहिलो पटक गहवामाई माताको निशानसहितको डोली यात्रा निकालिएको थियो । डोली यात्रामा वीरगञ्जका मेयर राजेशमान सिंह, पूर्व सांसद राजेन्द्र बहादुर अमात्यसहित हजारौँको सङ्ख्यामा श्रद्धालुहरूले सहभागी थिए ।

त्यस्तै रामनवमीको अवसरमा वीरगञ्जको घडिअर्वा पोखरीस्थित श्री रामजानकी मन्दिर प्राङ्गणमा पनि आरती आयोजना गर्न लागिएको छ । आज बिहानै मन्दिरबाट वृहत् शोभा यात्रा पनि निकालिएको थियो ।

Back to top