×

वीरगञ्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित टी–१० क्रिकेट लिग प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्साले नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्जलाई पराजित गरेको छ । 

टी–१० क्रिकेट लिग प्रतियोगिताअन्तर्गत बुधवार भएको दोस्रो खेलमा नेपाल पत्रकार महासङ्घ पर्साले एनवाइईएफ वीरगञ्जलाई १६ रनले पराजित गरेको हो । 

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा भएको खेलमा ७८ रनको लक्ष्य पाएको एनवाइईएफ वीरगञ्जले १० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन मात्र बनाएपछि नेपाल पत्रकार महासङ्घ पर्सा विजय भएको हो । 

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासङ्घ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । 

बुधवार बिहानै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगञ्ज बैंकर्स ग्रुपलाई पराजित गरेको थियो । खेलमा ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले १० रनले विजय भएको थियो । 

जितसँगै नेपाल मेडिकल एसोसिएसन पर्साले फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए । 

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासङ्घ पर्सा, वीरगञ्ज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगञ्ज महानगरपालिका कार्यालय र एनवाइईएफ वीरगञ्ज सहभागी छन् ।

Back to top