इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स माथि ७ विकेटको सहज जित निकालेको छ।
चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो। पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए। यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे। स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहे। ओपनर प्रभसिम्रन सिंह १३ रन बनाएर आउट भएका थिए।
चेन्नाईका शार्दुल ठाकुर, रिचार्ड ग्लिसन र शिभम दुबेले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन जोड्यो। चेन्नाईका लागि कप्तान रुतुराज गाईक्वाडले ४८ बल खेल्दै सर्वाधिक ६२ रन बनाए। अर्का ओपनर अजिंक्या राहानेले २९ रन बनाए भने समिर रिज्विले २१ रन जोडे। मोइन अलिले १४ तथा महेन्द्र सिंह धोनीले १४ रन बनाए।
पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले २-२ विकेट लिए भने कागिसो रबाडा र अर्शदिप सिंहले १-१ विकेट लिए।
जित पछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चेन्नाई १० खेलमा १० अंक सहित चौथो छ।
आईपिएलमा आज सनराईजर्स हैदराबाद र राजस्थान रोयल भिड्ने छन्।