×

मुम्बई । भारत स्वतन्त्र हुनु अघि देखिको व्यावसायिक घराना गोदरेज ग्रुप विभाजन भएको छ । रियल स्टेटदेखि लिएर उपभोग्य वस्तुसम्म कारोबार फैलिएको १२७ वर्ष इतिहास बोकेको गोदरेज ग्रुपको व्यवसाय अन्ततः दुई भागमा विभाजन भएको हो ।

विभाजन सम्झौताका अनुसार एक हिस्सा ८२ वर्षीय आदि गोदरेज र उनका भाइ नादिरको भागमा परेको छ भने अर्को हिस्सा काकाका छोरा जमशेद र उनकी बहिनी स्मिता गोदरेजको भागमा परेको छ ।  

आदि र नादिरले गोदरेज इन्डस्ट्रिज आफ्नो भागमा पारेका छन् । जसअन्तर्गत पाँच वटा सूचीकृत कम्पनीहरू छन् । जमशेद र स्मिताको भागमा भने गैर–लिमिटेड कम्पनी गोदरेज एन्ड बोयस र मुम्बईमा त्यससँग सम्बन्धित मुख्य सम्पत्तिसहित ल्यान्ड बैंक परेको छ ।  

गोदरेज इन्डस्ट्रिज समूहमा सेयर बजारमा सूचीकृत कम्पनीहरू–गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्ज्युमर, गोदरेज प्रोपटिज्, गोदरेज एग्रोभेट र एस्टेक लाइफ साइन्सेस छन् । यी कम्पनीका अध्यक्ष नादिर गोदरेज हुनेछन् र यसको नियन्त्रण भने नादिर र उनको परिवारले गर्नेछ । आदिका ४२ वर्षीय छोरा पिरोजशा गोदरेज कम्पनीका कार्यकारी उपाध्यक्ष हुनेछन् । उनले सन् २०२६ सम्म नादिरको स्थान ओगट्ने जनाइएको छ ।  

अर्कोतर्फ गोदरेज इन्टरप्राइजेज ग्रुपमा गोदरेज एन्ड बोयस र सहायक कम्पनी समावेश छन् । यसलाई एमडी तथा प्रेसिडेन्ट जमशेद गोदरेजले नियन्त्रण गर्नेछन् । उनकी बहिनी स्मिताकी ४२ वर्षीय छोरी न्यारिका होल्कर कम्पनीको कार्यकारी निर्देशन बन्नेछिन् । यो ग्रुपसँग मुम्बईमा ३ हजार ४ सय एकडको ल्यान्ड बैंक पनि छ । यो ग्रुपको कुल बजार मूल्य २.३४ लाख करोड भारु छ ।  

गोदरेज ग्रुपमा विभाजनको प्रक्रिया ३ वर्षदेखि चल्दै आएको थियो ।

ग्रुपको स्थापना सन् १८९७ मा अर्दिेशिर गोदरेवज र पिरोजशा बुर्जोरसी गोदरेजले गरेका थिए । गोदरेज ग्रुपका संस्थापक आर्देशरि गोदरेजले ३ हजार भारुबाट सर्जरी ब्लेडको आफ्नो व्यवसाय गरेका थिए । जुन व्यवसाय धेरै टिक्न सकेन । त्यसपछि उनले साँचो चाबी बनाउने व्यवसाय सुरुवात गरेका थिए र बिस्तारै व्यवसायलाई विस्तार गर्दै लगेका थिए ।

Back to top