×

वीरगञ्ज । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए । पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए । पछिल्लो साताबाट भने लामा सामाजिक सन्जालमा सक्रिय थिए । 

उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । 

अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए । लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए । 

लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । सर्लाही घर भएका लामा काठमाडौँ बस्दै आएका थिए ।  

२०७८ असार ६ गते एन्फा निर्वाचनमा अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट लामा उपाध्यक्ष निर्वाचत भएका थिए । 

Back to top