×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २१६ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको सयुँक्त टोलीले बाराको निजगढ नगरपालिका वडा नम्बर १० लालपार्कस्थित रतनपुरबाट लागूऔषध गाँजा बरामद गरेको हो । 

रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ख७५५२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकभित्र लुकाईछिपाई राखिएको २१६ किलो गाँजा फेला परेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 

उनकाअनुसार ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी बस्ने ३० वर्षीय जिबन घलानलाई नियन्त्रणमा लिइएको छ । 

दुवैजनालाई लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 
 

Back to top