×

वीरगञ्ज । राष्ट्र निर्माणको प्रक्रियामा शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ । यसलाई मौलिक मानव अधिकार र व्यक्तिगत, सामाजिक र आर्थिक विकासका लागि आवश्यक उपकरणको रूपमा व्यापक रूपमा मान्यता दिइएको छ । राष्ट्र निर्माणमा शिक्षाको व्यापक अपरिहार्यता छ । 

शिक्षाले मानव पुँजी विकास, सामाजिक एकता र समावेशीकरणलाई प्रवर्द्धन गर्दै, आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन, सुशासन र लोकतन्त्रको अभिवृद्धि, वातावरणीय दिगोपन सुनिश्चित गर्न, र स्वास्थ्य र कल्याणमा सुधार गरी राष्ट्र निर्माणको आधारशिलाको रूपमा काम गर्दछ । त्यस कारण, बढ्दो जटिल र अन्तरसम्बन्धित संसारमा फस्टाउन सक्ने समृद्ध, समावेशी र दिगो समाज निर्माण गर्न शिक्षामा लगानी महत्त्वपूर्ण छ ।

राम्रो शिक्षा दिनको लागि अव्वल शिक्षकहरूको जरुरी हुन्छ । तर हाम्रो देशमा २०४६ साल पछिका विभिन्न राजनीतिक  परिवर्तनसँगै देशमा पनि केही परिवर्तन नभएका हैनन् तर शिक्षा क्षेत्र दिनानुदिन खस्किँदै गएको अवस्थालाई हामी सबैले लाचार भएर ग्रहण गरिरहेको अवस्था छ। भनिन्छ शिक्षकहरू जब यो दल र त्यो दलमा विभाजित हुन्छन् त्यो देशको शिक्षा प्रणाली ध्वस्त नै हुन्छ ।

अब कुरा गरौँ यस पेसाको उन्नयन कसरी होला त ?

शिक्षा पूर्वाधारको पनि पूर्वाधार, विकास एवं समृद्धिको आधार र आर्थिक सामाजिक रूपान्तरणको माध्यम हो । किनकि विकास र समृद्धि ज्ञान र सिपयुक्त दक्ष मानव संसाधनबिना सम्भव छैन । मानव संसाधन विकासका आधारशिला विद्यालय हुन् । शिक्षक यसको मुख्य कर्ता हो । विषयवस्तुको ज्ञान र शिक्षण कौशलमा पोख्त, कामप्रति उत्प्रेरित, सृजनशील र पेसाप्रति उत्तरदायी शिक्षकबिना विद्यालय शिक्षाले समाजको माग पूरा गर्न सक्दैन । यसका लागि शिक्षण पेसामा उच्च शिक्षाका मेधावी र अब्बल उत्पादन भित्र्याउनु पर्छ । शिक्षण पेसामा अब्बल र उम्दा जनशक्ति भित्र्याउन यसलाई मर्यादित र थप आकर्षक बनाउनु पर्छ अर्थात् शिक्षण पेसाको उन्नयन र यसको गरिमाको पुनरुत्थान हुन जरुरी छ । 

प्रथमतः शैक्षिक जनशक्ति योजना निर्माण गरेर शिक्षक तयारीबाटै योजनाबद्ध प्रयास हुनु आवश्यक छ । हाल विश्वविद्यालयले स्नातक (बिएड) र स्नातकोत्तर (एमएड) तहको उच्च शिक्षाका माध्यमबाट शिक्षक तयारी गरिरहेका छन् । शिक्षक तयारी कोर्समा सैद्धान्तिकका साथसाथै व्यावहारिक अभ्यास पनि उत्तिकै हुन आवश्यक छ तर सो अनुरूप हुन सकिरहेको छैन । शिक्षण कौशल, शैक्षिक सामग्रीको पहिचान, निर्माण र प्रयोग, कक्षा व्यवस्थापन, विद्यार्थीको विविधता र सिकाइ आवश्यकताको पहिचान र सो अनुरूप सिकाइ वातावरण निर्माण जस्ता विषयमा प्रयोगात्मक अभ्यास पर्याप्त मात्रामा हुने गरी वर्तमान पाठ्यक्रममा परिमार्जन गर्नु पर्छ । 

शिक्षक भर्नाका लागि हालसम्म परम्परागत नकारात्मक भर्ना प्रणाली अवलम्बन हुँदै आइरहेको छ । यसबाट मात्र पूर्ण रूपमा उत्कृष्ट जनशक्ति आकर्षित गर्न सकिएको छैन । अब आवश्यकता अनुसार विश्वविद्यालयसँग सहकार्य गरेर उत्कृष्ट प्रतिभा सोझै भित्र्याउने खालको व्यवस्था गर्नु पर्छ । शिक्षक छनोटका लागि हाल अवलम्बन गरिँदै आएको लिखित परीक्षाले सैद्धान्तिक ज्ञान पक्षको मात्र मापन गर्ने र शिक्षण कौशलको पर्याप्त मापन गर्न सक्दैन । शिक्षक सेवा आयोग नियमावलीमा प्रयोगात्मक परीक्षा लिन सकिने व्यवस्था रहे पनि यसको अवलम्बन हुन सकेको छैन । अब प्रयोगात्मक परीक्षालाई शिक्षक छनोटमा वस्तुनिष्ठ मापदण्डसहित अनिवार्य अवलम्बन गरिनु पर्छ । साथै पाठ्यक्रममा सामयिक परिमार्जन र सूचना तथा सञ्चार प्रविधिलाई पनि यथोचित समावेश गरिनु पर्छ ।

शिक्षकलाई शिक्षण सिकाइका क्षेत्रमा आएका नवीनतम अवधारणा, ज्ञान, सिप र प्रविधिसँग अद्यावधिक गराइराख्न निरन्तर पेसागत सहयोग र क्षमता विकास आवश्यक हुन्छ । यसका लागि सेवा प्रवेश, सेवाकालीन, छोटो अवधिका विभिन्न तालिम, कार्यशाला, अन्तर्वतिय, अवलोकन भ्रमण आदिको पर्याप्त अवसर प्रदान तथा स्वअध्ययनका लागि प्रोत्साहन गरिनु पर्छ । शिक्षक सञ्जाल, मेन्टरिङ जस्ता उपाय अवलम्बन गर्नु पर्छ । वैदेशिक अध्ययन र भ्रमणबाट सिक्ने मौका प्रदान गर्नु पर्छ । यसबाट शिक्षकमा दक्षता अभिवृद्धि भई पेसागत गौरवको अनुभूतिसमेत हुन जान्छ ।

शिक्षकमा अन्तरनिहित प्रतिभा र सम्भावनाको शिक्षण सिकाइमा पूर्ण उपयोग गर्न विद्यालयको कार्य वातावरण शिक्षकमैत्री हुनु पर्छ । यसका लागि विद्यालयमा आवश्यक न्यूनतम साधन र स्रोतको व्यवस्था हुनु पर्छ । शिक्षण सिकाइलाई समयानुकूल बनाउन सूचना र सञ्चार प्रविधिमा शिक्षकको सहज पहुँच र यससम्बन्धी तालिमको व्यवस्था मिलाउनु पर्छ । विद्यालय सञ्चालन शिक्षण सिकाइका लागि समुदाय र अभिभावकको सहयोगी भूमिका हुनु पर्छ । शिक्षक र अभिभावकबिच निरन्तर समन्वय र अन्तव्रिर्mया आवश्यक छ । शिक्षकलाई राजनीतिक वा अन्य ढङ्गले आफू अनुकूल उपयोग गर्न खोज्ने वर्तमान राजनीतिक र सामाजिक प्रवृत्तिमा सुधार हुन आवश्यक छ । 

शिक्षण पेसालाई आकर्षक बनाउन, यसमा प्रतिभा भित्र्याउन र टिकाइराख्न शिक्षकलाई अन्य पेसाका समान योग्यतावालाको भन्दा बढी सुविधाको व्यवस्था गर्नु पर्छ । यस्तो कुरा बेलाबखत नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख पनि हुने गरेको छ तर लागू गरिएको पाइँदैन । तलब भत्ता निजामती सेवाका कर्मचारीसरह भए पनि अन्य सुविधा नरहेको भन्ने गुनासो शिक्षकको रहेको पाइन्छ । शिक्षक सरुवा व्यवस्थित, अनुमानयोग्य र स्वचालित हुन सकेको देखिँदैन । बाल विकास र माध्यमिक तह ९कक्षा ११–१२० मा कार्यरत सबै शिक्षक अस्थायी रहेका छन् । सेवाको स्थायित्व नभएको हुँदा उनीहरूको भविष्यबारे अन्योल देखिन्छ । 

प्रतिभावान्लाई आकर्षित गर्न र टिकाइराख्न सकिएको छैन । सेवाको स्थायित्व र वृत्ति विकास सुनिश्चित नहुँदा उनीहरूलाई पेसागत भविष्यप्रति ढुक्क र कार्यप्रति उत्प्रेरित गराउन सकिएको छैन । जसले शिक्षण पेसा प्रतिभावान् र उम्दाको रोजाइमा पर्न सकेको छैन ।

शिक्षकका लागि वित्तीय तथा गैर वित्तीय सुविधा वृद्धि र वृत्ति विकास सुनिश्चित गर्नु पर्छ । न्यूनतम तलब सुविधाका अतिरिक्त कार्यसम्पादनमा आधारित थप सुविधाको व्यवस्था गर्न सकिन्छ । त्यस्तै शिक्षक र परिवारको उपचारका लागि अस्पतालको व्यवस्था वा सरकारी खर्चबाटै स्वास्थ्य बिमाको व्यवस्था र शिक्षकका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था गर्नु पर्छ । ग्रामीण, विकट र दुर्गम क्षेत्रमा अध्यापन गर्ने शिक्षकका लागि थप आकर्षक सुविधा र निश्चित समय सेवा गरेपछि सुगम क्षेत्रमा सरुवा हुने स्वचालित प्रणालीको व्यवस्था गर्नु पर्छ । शिक्षा क्षेत्रमा निजी लगानीबाट सञ्चालित विद्यालयको पनि महत्त्वपूर्ण स्थान रहेको छ । यस्ता विद्यालयमा कार्यरत शिक्षकलाई पनि सार्वजनिक विद्यालयका शिक्षकसरह न्यूनतम सुविधा दिनुपर्ने कानुनी व्यवस्था रहे पनि यसको कार्यान्वयन अवस्था कमजोर रहेको छ । ती विद्यालयले शिक्षकलाई दिने सुविधामा एकरूपता र पारदर्शिता छैन । साथै सेवाको स्थायित्व पनि छैन । वृत्ति विकास र सामाजिक सुरक्षाको पनि कुनै निश्चितता छैन । यस्ता विद्यालयमा कार्यरत शिक्षकको न्यूनतम पारिश्रमिक, सुविधा र सामाजिक सुरक्षा सुनिश्चित गर्न सकिएमा निजी लगानीका विद्यालयमा पनि अब्बल र उम्दा नवप्रतिभालाई आकर्षित गर्न र टिकाउन सकिन्छ ।

शिक्षकको कार्यसम्पादनको उचित एवं वस्तुनिष्ठ मूल्याङ्कन र यसलाई सुविधा तथा वृत्ति विकाससँग आबद्ध गर्नु पर्छ । राम्रो काम गर्नेलाई नगद पुरस्कार, कदर पत्र, तलब वृद्धि थप जस्ता माध्यमबाट पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्छ । यसका लागि प्रत्येक स्थानीय तहले शिक्षक कार्यसम्पादन प्रोत्साहन कोषको व्यवस्था गर्नु पर्छ । शिक्षकलाई पर्याप्त सुविधा, मर्यादा र वृत्ति विकास सुनिश्चित गर्न पेसाप्रति जबाफदेही र उत्तरदायी बनाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि शिक्षककै सहभागितासमेतमा आचारसंहिता निर्माण र सोको पूर्ण रूपमा पालना गर्ने व्यवस्था हुन आवश्यक छ । वर्तमान शिक्षा नियमावलीमा शिक्षक आचारसंहिता भए पनि यो पर्याप्त छैन । यसको पालनाको निरन्तर अनुगमनको कुनै भरपर्दो व्यवस्था पनि छैन । सङ्घीय प्रणाली अनुरूप निर्माण हुने शिक्षासम्बन्धी ऐन नियममा यसलाई व्यवस्थित गर्नु पर्छ । आचारसंहिता परिपालना अनुगमनको भरपर्दो संयन्त्र व्यवस्था गरी शिक्षकलाई प्रशासनिक रूपमा विद्यालय व्यवस्थापन र शैक्षिक रूपमा विद्यार्थीप्रति उत्तरदायी बनाउनु पर्छ । 

शिक्षण सिकाइका  क्रममा आइपर्ने विविध समस्याको पहिचान र समाधान, विद्यार्थीका विविधताको सम्बोधन, ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीनतासँग निरन्तर परिचित हुन तथा आफूमा अन्तर्निहित प्रतिभा र सम्भावनाको प्रस्फुटनमार्फत कक्षाकोठाको शिक्षण सिकाइमा सोको उपयोग गर्न शिक्षकलाई निरन्तर अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि प्रोत्साहन गर्नु पर्छ । यसका लागि स्वदेश तथा विदेशमा अध्ययन, अनुसन्धान र अवलोकन भ्रमणको अवसर दिन सक्नु पर्छ । शिक्षकले देखाएको सिर्जनात्मकता र नवप्रवर्तनलाई यथोचित कदर र प्रोत्साहन गर्नु पर्छ । 

अन्त्यमा, जब समाजले शिक्षकहरूको अमूल्य योगदानलाई मान्यता दिन्छ र शिक्षकहरूको लागि सहयोगी र इनामदायी वातावरण सिर्जना गर्न लगानी गर्दछ, शिक्षण पेसाको आकर्षण अवश्य बढ्ने छ। गुणस्तरीय शिक्षाका माध्यमबाट सिपयुक्त र दक्ष जनशक्तिको उत्पादन, स्वदेशमै रोजगारी र स्वरोजगारीको सिर्जना र आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शिक्षण पेसामा मेधावी र प्रतिभावान् जनशक्ति आकर्षण गर्न आवश्यक छ । यसका निम्ति शिक्षण पेसालाई व्यावसायिकता र सुविधाका दृष्टिले आकर्षक बनाउन र यसको गरिमाको पुनरुत्थान गर्न अपरिहार्य छ । 

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ । ) [email protected]

Back to top