×

वीरगञ्ज । गत वर्षदेखि सञ्चालनमा आएको ‘वीरगञ्ज बक्स क्रिकेट लिग’ को दोस्रो संस्करण सुरु भएको छ । स्पोर्ट्स हाउस नेपालको आयोजनामा हिजो आइतबारदेखि लिगको दोस्रो संस्करण सुरु भएको हो ।

वीरगञ्जस्थित वर्ल्ड अफ वन्डर्स (वाओ) मा भइरहेको लिगअन्तर्गत आइतबार दुई खेल सम्पन्न भएका छन् । टिजी वारियर्स र वीरगञ्ज टाइट्न्स तथा वीरगञ्ज पावर स्ट्राइक्रस र राउन्ड टेबल दुई बिच खेल सम्पन्न भएको आयोजक संस्थाका सह-संस्थापक सौरभ केडियाले जानकारी दिए ।

टिजी वारियर्स र वीरगञ्ज टाइट्न्सबिच भएको खेलमा वीरगञ्ज टाइट्न्स ४ विकेटले विजयी भयो । टिजी वारियर्सले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर दिएको २८ रनको लक्ष्य वीरगञ्ज टाइट्न्सले ५ ओभरमा दुई विकेट गुमाउँदै प्राप्त गर्‍यो ।

त्यस्तै वीरगञ्ज पावर स्ट्राइक्रस र राउन्ड टेबल २ बिच भएको खेलमा राउन्ड टेबल नेपाल २ ले सहज जित प्राप्त गर्‍यो । निर्धारित ६ ओभर खेल्दै ३ विकेट गुमाएर वीरगञ्ज पावर स्ट्राइक्रसले दिएको २८ रनको लक्ष्यलाई राउन्ड टेबलले जम्मा ३.२ ओभरमा दुई विकेट गुमाएर प्राप्त गर्‍यो ।

वीरगञ्जमा खेलकुद सम्बन्धि गतिविधिलाई अगाडि बढाउँदै व्यावसायिक रूप दिने उद्देश्यका साथ स्थापित स्पोर्ट्स हाउस नेपालले स्थापना कालदेखि नै विभिन्न प्रतियोगिता, तालिम, कार्यशालाहरू गराउँदै आएको छ ।

Back to top