×

तस्बिरहरू : आनन्द कुमार ।

वीरगञ्ज । वीरगञ्जको रानीघाटस्थित सिर्सिया नदीमा सफा पानी नभएपछि छठ पूजाको अर्घ्य दिनका निमित्त स्थानीयहरूले कृत्रिम पोखरी बनाएका छन् ।

नदीको पानी दुर्गन्धित र स्वास्थ्यका लागि समेत प्रतिकूल भएपछि छठ व्रतालुहरूका लागि कृत्रिम पोखरी बनाइएको हो ।

रानीघाट छठ पूजा व्यवस्थापन समितिका अनुसार वीरगञ्ज महानगरपालिका र नदी प्रदूषित गर्ने उद्योगीहरूलाई पटक – पटक आग्रह गर्दा समेत अटेरी गरेपछि छठको दिनसम्म पनि नदीको पानी सफा हुन सकेको छैन ।

पानी सफा नहुँदा नदी भित्र पसेर छठ व्रतालुहरूलाई अर्घ्य दिन गाह्रो हुने भएपछि स्थानीयहरूको सहयोगमा पूजा व्यवस्थापन समितिले कृत्रिम पोखरी निर्माण गरेको हो । 

चार दिनसम्म चल्ने चैते छठको आज प्रमुख दिन हो । जहाँ छठ गर्ने व्रतालुहरूले नदी भित्र प्रवेश गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । त्यस्तै भोली बिहान पनि नदी भित्र प्रवेश गरेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिने छन् । यद्यपि नदी सफा नभएको कारण यस पटक व्रतालुहरू कृत्रिम पोखरीबाट अर्घ्य दिन बाध्य भएका छन् ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पटक–पटक प्रयास गर्दा समेत प्रदेश र सङ्घ सरकारको असहयोग र उद्योगीहरूको अटेरीका कारण नदी सफा हुन सकेको छैन । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रबाट रहेर कारबाही गरे पनि सङ्घ र प्रदेश सरकारले सहयोग नगरेपछि महानगरले गरेका प्रयासहरू असफल हुने गरेका छन् । यद्यपि सिर्सिया नदीलाई सफा बनाउन आफूले प्रयास जारी राखेको मेयर सिंहको भनाई छ ।

श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्स लगायतका उद्योगहरूले प्रशोधन नै नगरी सोझै लेदो र रसायन युक्त पानी छोडेपछि सिर्सिया नदी प्रदूषित हुन पुगेको हो । महानगरले उद्योगहरूलाई समय – समयमा दण्डित गरे पनि उनीहरू पानी प्रशोधन राख्न मानेका छैनन् ।

Back to top