×

भियतनाममा चलिरहेको एक मुद्दाले यतिबेला विश्वको ध्यान खिचेको छ । यसलाई विश्वकै चर्चित बैंक ठगीको घटना भनिँदैछ । हो ची मिन सहरको अदालतमा ६७ वर्षीया पोपर्टी डेभलपरलाई उपस्थित गराइएको थियो । उनीमाथि भियतनामको सबैभन्दा ठुलो बैंकलाई ११ वर्षको अवधिमा खर्बौँ रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।

ट्रुओङ माई लानमाथि साइगोन कमर्सियल बैंकबाट ऋणका रूपमा ४४ अर्ब डलर लिएको आरोप लगाइएको छ । यसमध्ये २७ अर्ब रुपैयाँ फिर्ता नहुने अभियोजन पक्षको दाबी छ ।

यस्ता विषयलाई प्रायः गोप्य राख्ने त्यहाँको कम्युनिस्ट अधिकारीहरूले यस मुद्दामा भने सबै जानकारी मिडियालाई दिइरहेका छन् । अधिकारीहरूका अनुसार यस मुद्दामा २ हजार ७ सय जनालाई बयानका लागि बोलाइएको छ भने १० जना सरकारी अभियोजक तथा २ सय वकिल आबद्ध रहेका छन् ।

यस मुद्दाको प्रमाण १०४ वटा बाकसमा राखिएका छन्, जसको तौल ६ टन रहेको बताइएको छ । ट्रुओङ माई लानसहित ८५ जनालाई विपक्षी बनाएर मुद्दा चलाइएको छ । लानले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आइरहेकी छन् । उनीसहित १३ जनाले मृत्युदण्डको सजाय पाउन सक्नेछन् ।

यो मुद्दा कम्युनिस्ट पार्टीका सेक्रेटरी जनरल न्गूयेन फू ट्रोङले चलाएको भ्रष्ट्राचारविरोधी अभियानको सबैभन्दा नाटकीय अध्याय हो । भ्रष्टाचारविरुद्धको जनताको आक्रोश कम्युनिस्ट पार्टीको सत्तामाथि चुनौती भएको उनको बुझाइ रहेको छ । उनले सन् २०१६ देखि यो अभियान सुरु गरेका हुन् ।

यता ट्रुओङ माई लान हो ची मिन सहरको सिनो–भियतनामी परिवारकी सदस्य हुन् । पहिले साइगोन भनिने यो सहर दक्षिण भियतनामको कम्युनिस्ट विरोधी राजधानीका रूपमा परिचित थियो । यो सहरलाई भियतनामको अर्थतन्त्रको ‘व्यापारिक इन्जिन’ पनि मानिन्छ ।

सन् २०११ मा उनले तीनवटा बैंकको मर्जर गरेर साइगोन कमर्सियल बैंकको स्थापना गरेकी थिइन् । भियतनामको कानुनले कुनै पनि व्यक्तिले एउटा बैंकमा ५ प्रतिशतभन्दा बढी सेयर लिन पाउँदैन । तर, उनले सयौँ शेल कम्पनी र ‘प्रोक्सी’ व्यक्तिहरू खडा गरेर बैंकको ९० प्रतिशत सेयर आफ्नो नाममा राखेकी थिइन् ।

उनले यो शक्ति प्रयोग गरेर आफ्ना निकटस्थहरूलाई बैंकको व्यवस्थापनमा नियुक्त गर्दै आफ्नै शेल कम्पनीहरूलाई ऋण दिन लगाएको आरोप छ । उनको कम्पनीहरूले बैंकले प्रवाह गरेको कूल ऋणको ९३ प्रतिशत ऋण प्राप्त गरेको देखिएको छ ।

Back to top