×

वीरगञ्ज । नेकपा एमाले चारवटा मन्त्रालय लिएर मधेस प्रदेस सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा फेरिएको गठबन्धनपछि एमाले मधेस प्रदेस सरकारमा सहभागी हुन लागेको हो । मुख्यमन्त्री सरोजकुमार यादवले एमालेलाई सरकारमा सहभागी गराएर आज मन्त्रिपरिषद पुनर्गठनको तयारी गर्ने  छन् ।

सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूले राजीनामा नगरेपछि मुख्यमन्त्री यादवले एमालेलाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठनका तयारी गरेका हुन् । यसअघि सरकारमा सहभागी नेपाली कांग्रेसले सम्हालेको तीन र थप एक मन्त्रालयसहित एमालेलाई दिने सहमति जुटेको स्रोतले बताएको छ ।

प्रदेस संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा एमाले सरकामा सहभागी हुन लागेको बताइएको छ । चारवटा मन्त्रालय आफूहरूले पाउने सहमति जुटेको एमालेका एक प्रदेस सांसदले बताए ।

चारवटा मन्त्रालय पाउने सहमति जुटे पनि सरकारमा सहभागी हुने मन्त्रीहरूको अन्तिम टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ । ‘हामीले चारवटा मन्त्रालय पाउने सहमति भएको छ,’ एमालेका ती सांसदले भने,‘मन्त्रीहरूको नाम टुंगो लगाउन बैठक बस्दैछ, केही बेरपछि निर्णय हुन्छ ।’

प्रदेस सरकारमा कांग्रेसले भौतिक, स्वास्थ्य र गृह तथा सञ्चार मन्त्रालय सम्हालेको थियो । त्यस्तै सरकारबाट बाहिरएपछि जनमत पार्टीले सम्हालेको शिक्षा र कृषि मन्त्रालय पनि मुख्यमन्त्री यादवले आफैं राखेका छन् । मन्त्रिपरिषद पुनर्गठन हुँदा एमालेले भौतिक, स्वास्थ्य, गृह तथा सञ्चारका र कृषि पाउने सम्भावना रहेको बताइएको छ बाँकी एक मन्त्रालय कसले राख्ने विषयमा टुंगो लाग्न अझै बाँकी छ ।

नवनियुक्त प्रदेस प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण नगरेका कारण केन्द्रमा सत्तासमीकरण फेरिए पनि मुख्यमन्त्री यादवले प्रदेसमा मन्त्रिपरिषद पुनर्गठन गरेका थिएनन् । नवनियुक्त मुख्यमन्त्री भण्डारी पदभार ग्रहण गर्न सोमबार पुग्दैछिन् । उनले पदभार ग्रहण गरेसँगै साँझसम्म मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना रहेको छ ।

Back to top