×

वीरगञ्ज । पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपाली काङ्ग्रेस नै जनताको आशा र भरोसा भएको जिकिर गरे । प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साउदले सबैभन्दा ठूलो पार्टी प्रति जनताले गरेको भरोसालाई टुट्न नदिने दाबी गरे ।

स्थानीय तहदेखि प्रदेश सरकारमा पनि काङ्ग्रेसले प्रभावकारी कार्य गरीरहेको उनको भनाई छ । नेपाली काङ्ग्रेसलाई पाखा लगाएर देशको राजनीतिमा निर्णायक र महत्वपूर्ण कार्यहरू गर्न नसकिने साउदले बताए । 

नेपाली काङ्ग्रेसले जहिले पनि देशमा स्वच्छता र पारदर्शीताको हिसाबले काम गर्दै आएको उनको भनाई छ । अहिले गृहमन्त्री बारे सहकारी  सम्बन्धि लागेको आरोप बारे सरकारी समितिबाट छानबिन नभएर संसदीय समिति बनाएर गराउनुपर्ने उनको माग छ । 

आज इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनमा पनि नेपाली कांग्रेसका उमेदवारले जित्ने उनले दाबी गरे । नेपाली कांग्रेसको नेतृत्वमा देशमा लागू भएको संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेस जिम्मेवार भएर लागि परेको उनले बताए ।  

प्रेस युनियन पर्साका सभापति विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, मधेश प्रदेशका पुर्व खानेपानी मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सभा सदस्य एवम् पार्टीका पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचीव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेताहरुको उपस्थिति रहेको थियोे । 
 

Back to top