×

वीरगञ्ज । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा झन्डै दुई महिना अगाडि बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सिंहलाई सिंहलाई बारा प्रहरीले मङ्गलवार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको स्रोतका अनुसार सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट नियन्त्रणमा लिइएको छ । उनलाई पक्राउ गर्ने क्रममा गोली समेत प्रहार गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडाभन्दा मुनि गोली हानेको हो ।

सिंहलाई मङ्गलवार साँझ नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले पनि पुष्टि गरे । सिंहको हाल कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार चलिरहेको छ ।

सिंहको समूहले गत कार्तिक १३ गतेका दिन प्रधानाध्यापक स्वर्णकारको गोली बाल एकता स्कुल नजिकै रहेको मदरसामा गोली हानेर हत्या गरेको थियो । टाउको र घातीमा गोली लागेर गम्भीर रूपले घाइते भएका स्वर्णकारको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । सिंह पक्राउ परे पनि उनको समूहका अन्य आरोपीहरूलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

पक्राउ परेका सिंहको यसअघि पनि बारा जिल्लामा भएका गोली काण्डहरूमा नाम आएको छ ।

Back to top