साङ्केतिक तस्बिर ।
वीरगञ्ज । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३.३९ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ लाख रुपैयाँ झरेको छ ।
गत वर्ष सो अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको थियो । पाँच महिनाको अवधिमा निर्यात ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँमा झरेको छ । गत वर्ष सो अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको निर्यात भएको थियो । पाँच महिनामा वैदेशिक व्यापार घाटा ३.०९ प्रतिशतले घटेर पाँच खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष सो अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ थियो । पाँच महिनामा कुल वैदेशिक व्यापार ३.६४ प्रतिशतले घटेर सात खर्ब पाँच अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष मुलुक वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपैयाँ रहेको थियो ।
पाँच महिनामा भएको आयातबाट एक खर्ब ७० अर्ब ९८ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टिलको आयातसमेत केही खुम्चिएको छ । कच्चा भटमासको तेल र औषधी आयातसमेत घटेको छ ।
यस वर्ष तयारी पोसाक र अन्नको आयात भने बढेको तथ्याङ्कले देखाएको छ । पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात एक खर्ब २८ अर्ब रुपैयाँको भएको छ । यस्तै ५२ अर्ब ४४ करोड रुपैयाँको आइरन र स्टिल आयात भएको छ ।
यस्तै विद्युतीय सामग्रीको आयात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपुर्जाको आयात २९ अर्ब २० करोड रुपैयाँको रहेको छ । गोरखापत्र दैनिकबाट साभार ।