सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ । हिजो सुनुवाइ हुन हुन नसकेपछि आजको लागि सरेको थियो । आजदेखि रिट निवेदनकर्ताले वकालत गर्नेछन् ।
सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवाको माग गर्दै विभिन्न कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका हुन् । टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए । सबै रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो ।
त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण हिजो एकल इजलास बस्न सकेन ।
त्यसैले न्यायाधीश चुडालको एकल इजलासमा पेशी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। सबै मुद्दालाई सर्वोच्च अदालत प्रशासनले ‘हेर्न नभ्याइने’ मा राखेको छ।