×

वीरगञ्ज । वीरगञ्जको लाइफलाइन भनिएको सिर्सिया नदी प्रदूषण नियन्त्रणको अभियानमा बाधा पुर्‍याउने सिद्धि टेक्सटाइललाई दण्डित गरिएको छ ।

महानगरद्वारा सिर्सिया नदिलाई प्रदूषित गर्ने उद्योगको अनुगमनका क्रममा उद्योगबाट निस्किने रसायन र लेदोसहितको फोहोर पानी सोझै सिर्सिया नदीमा मिसाएर प्रदूषित गर्ने वीरगञ्ज – २१ स्थित सिद्धि टेक्सटाइललाई दण्डित गरिएको हो ।

अनुगमनका क्रममा सिद्धि टेक्सटाइलले उद्योगबाट निस्केको रसायन र लेदोसहितको फोहोर पानी प्रशोधन नै नगरी सोझै सिर्सिया नदिमा मिसाउने गरेको भेटिएपछि ३० हजार रुपैयाँ जरिवाना गरिएको वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँले जानकारी दिए ।

वीरगञ्जका उद्योगी अशोक मित्तल सञ्चालक रहेको सिद्धि टेक्सटाइललाई यसअघि पनि महानगरपालिकाले तिन लाख रुपैयाँ जरिवाना गरेको थियो । महानगरले २०७९ चैत १४ गतेका दिन उद्योगबाट निस्केको फोहोर पानी सोझै नदिका मिसाए पाएपछि उद्योगलाई जरिवाना गरेको सरसफाइ शाखाका प्रमुख मियाँले बताए ।

पटक-पटक जरिवाना गर्दा समेत सिद्धि टेक्सटाइलले सिर्सिया नदिलाई प्रदूषित गर्ने कामलाई जारी राखेको छ । उद्योगबाट फोहर पानी सोझै नदीमा मिसाउँदा नदी नै मृत भएको छ भने सहनै नसक्ने गरी दुर्गन्धित समेत भएको छ । हाल नदी छेउमा जान नसक्ने अवस्था छ । मधेसी समुदायको सबैभन्दा ठूलो पर्व छठ नजिकिँदा समेत नदी सफा नहुँदा बर्तालुहरू निराश छन् । प्रत्येक वर्ष फोहर पानी मै अर्घ दिइरहेका उनीहरूले यस वर्ष पनि सफा पानीमा अर्घ दिन पाउने आफूहरूको सपना अधुरै रहने गुनासो गरेका छन् । छठ पर्वमा सूर्य देवता, छठी माता र नदी तलाउहरूको पूजा गर्नुपर्ने बाध्यताका कारण बर्तालुहरू फोहर, दुर्घंधित र हानिकारक पानीमा पसेर अर्घ दिन बाध्य हुनेगरेका छन् ।

यसअघि तिहार तथा छठ पर्व अगाडि नै सिर्सिया नदीको प्रदूषण रोक्न सिद्धि टेक्सटाइलसहित पाँच उद्योगले सहमति जनाएका थिए । गत असोज २९ गतेका दिन महानगरका मेयर राजेशमान सिंह आफैले गरेको अनुगमन पश्चात् उद्योगका सञ्चालकहरूले रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउने र त्यसो नगरे उद्योग सिल गरी नियम बमोजिम जरिबाना तिर्ने सहमति जनाएका थिए ।

सहमति अनुसार मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक पानी प्रशोधन गर्ने प्लान्ट बनाउने काम अघि बढाए पनि सिद्धि टेक्सटाइलका सञ्चालक मित्तलले सहमतिलाई लत्त्याउँदै सिर्सिया नदिलाई प्रदूषित गर्ने कार्य जारी राखेका छन् । त्यस्तै ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर र दुर्गा पल्स एन्ड पेपरले पनि पानी प्रशोधन गर्ने यन्त्र जडान गर्न अटेर गरिरहेका छन् । यद्यपि ग्लोबल, मारुती र दुर्गा पल्सले छठसम्मका लागि उद्योग बन्द गरे पनि सिद्धिले त्यस्तो नगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँले बताए ।

सिर्सिया नदिलाई प्रदूषित गरेर उद्योगी मित्तलले बर्सेनि करोडौँ रुपैयाँ कमाए पनि प्रदूषणका कारण नदी छेउमा बस्ने हजारौँ गम्भीर किसिमको स्वास्थ्य समस्याको जोखिममा छन् । सिर्सिया नदीको सफाइलाई प्राथमिकता नदिएर उद्योगी मित्तलले हजारौँ जनताको स्वास्थ्य अगाडि पैसालाई बढी महत्त्व दिएको यसले सहजै बुझ्न सकिन्छ । महानगरले पनि दण्डित मात्र गरिरहँदा उद्योगहरूमा भय सृजना हुनसकेको छैन । 

Back to top