×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा सञ्चारकर्मीसँग दुर्व्यवहार भएको छ । अग्निपथ मिडिया प्रालिमा कार्यरत चन्दन यादव र उनका सहयोगी मन्तोष प्रसाद कुशवाहमाथि नगरपालिकामा दुर्व्यवहार भएको हो ।

आइतबार दिउँसो रिपोर्टिङका लागि नगरपालिका कार्यालय पुगेका चन्दनले आफू र सहकर्मी मन्तोषमाथि असेसर यादव, उमाशङ्कर यादव र अयोध्या यादवले दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

चन्दनका अनुसार रिपोर्टिङका लागि बहुदरमाई – ४ बहुअरी टोलस्थित नगरपालिकाको कार्यालयमा पुगेका बेला असेसर, उमाशङ्कर र अयोध्याले क्यामेरा, माइक लगायतका सामग्रीहरू खोसेर गालीगलौज गर्नुका साथै दुर्व्यवहार गरेका थिए ।

‘म आफ्नो सहयोगी मन्तोषसँगै रिपोर्टिङको लागि नगरपालिका पुगेको थिएँ । त्यहाँ यिनीहरू पहिल्यै देखि बसिरहेका थिए । म छिर्न बित्तिकै किन आएको, के गर्न आएको, के काम छ भने प्रश्न गर्न थाले,’ चन्दनले भने, ‘त्यसपछि मैले समाचार सङ्कलनको विषयमा कार्यालय प्रमुख र नगरप्रमुखसँग भेट्न आएको हुँ भनेर बताए । त्यतिमै हामीसँग गालीगलौज  गर्नुका साथै हाम्रो क्यामेरा, माइक लगायतका सामग्री खोस्दै हामीसँग दुर्व्यवहार गरे ।’ 

क्यामेरा लगायतका सामग्रीहरू केही समय पछि उनीहरूले फिर्ता गरेको चन्दनको भनाई छ । दुर्व्यवहार गर्नेहरू नगरपालिकाको कर्मचारीसमेत नरहेको र मेयर सिंगासन सा तेली निकटका व्यक्ति रहेको चन्दनको दाबी छ । मेयरविरुद्ध समाचार आउने भयले उनीहरूले यस्तो गरेको चन्दनले बताए ।

चन्दनले तिनै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन् । ‘वीरगञ्ज पुगेर मैले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गरेको छु,’ उनले भने । नगरपालिकामा रहेको सिसिटिभी क्यामेराको रेकर्डिङ निकालेर अनुसन्धान गर्न प्रहरीसँग मेरो आग्रह छ ।

बहुदरमाई नगरपालिका - २ वडाध्यक्ष जीतेन्द्र पटेलले नगरपालिका कार्यालय बाहिरका व्यक्तिबाट सञ्चारकर्मीमाथि दुर्व्यवहार हुनु दुखद भएको बताए । उनले नगरपालिका बाहिरका व्यक्तिले बिना अधिकार सञ्चारकर्मीको क्यामेरा खोसेर दुर्व्यवहार गर्ने कामको अनुसन्धान गर्न माग गरे । उनले भने, ‘पत्रकार चन्दन यादवसँग दुर्व्यवहार गर्नेहरू के अधिकारले नगरपालिकामा बसिरहेका थिए ? उनीहरू न त्यहाँका कर्मचारी हुन्, न कुनै पदमा नियुक्त भएका व्यक्ति अनि के कामले उनीहरू त्यहाँ बसिरहेका थिए? कुन अधिकारले तिनीहरूले सञ्चारकर्मीलाई रोके ? यसको प्रहरी र प्रशासनबाट अनुसन्धान हुनुपर्दछ ।’

यता असेसर यादवले चन्दन यादवसँग आफूले दुर्व्यवहार नगरेको दाबी गरे । ‘हामीले चन्दन यादवसँग दुर्व्यवहार गरेका छैनौँ,’ उनले भने । 

Back to top