×

वीरगञ्ज । बारा जिल्लको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) को हत्याराहरूलाई पक्राउ गर्न माग गर्दै कलैयावासीहरूले आइतबार प्रदर्शन गरेका छन् । कलैयास्थित जिल्ला प्रशासन कार्यालय बाराको अगाडि स्थानीयहरूले रुपेशको हत्याराहरूलाई पक्राउ गर्दै निर्दोषहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् । 

पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य ज्वालाकुमार साहसमेतको सहभागितामा भएको प्रदर्शनमा स्थानीयहरूले रुपेश हत्याकाण्डमा बारा प्रहरीको अनुसन्धानमाथि प्रश्न खडा गरेका थिए । स्थानीयहरूका अनुसार प्रहरीले हत्याकाण्डमा फितलो अनुसन्धान गरेर निर्दोषीलाई फसाउँदै झारो टार्ने काम गरिरहेको छ ।

प्रदर्शनकारीहरूले रुपेशको हत्यारालाई छिटोभन्दा छिटो नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै बारा प्रहरीले नियन्त्रणमा लिएको जमील अख्तर र रियाज अन्सारीलाई समेत रिहा गर्न माग गरेका छन् । उनीहरूका अनुसार प्रहरीले झुटो आरोप लगाएर जमील र रियाजलाई फसाएको छ ।

उनीहरूले रुपेश हत्याकाण्डको अनुसन्धान बारा प्रहरीबाट खोसेर केन्द्रीय अनुसन्धान ब्युरू (सीआइबी) लाई जिम्मा लगाउन समेत माग गरेका छन्  ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जनता सुटरहरूको समूहले कलैया – ६ मदर्शा टोलीमा रुपेशमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

प्रहरीले रुपेशको हत्याको योजना बनाएको आरोपमा उनकै स्कूलको एका जना पूर्व कर्मचारी राधा गुप्तासहित पाँच जनालाई नियन्त्रणमा लिए पनि उनीमाथि गोली प्रहार गर्नेहरू अझै पनि पक्राउ पर्न सकेका छैनन् । मोटरसाइकलमा आएका सुटरहरू रुपेशमाथि गोली चलाएर भारत तर्फ भागेको प्रहरीको भनाई छ । 

अनुसन्धानका क्रममा राधा गुप्तासँग विवाहेत्तर सम्बन्धका कारण रुपेशको हत्या भएको दाबी गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग मिलेर रुपेशलाई मार्ने योजना बनाएको र सोही अनुरूप भारतबाट सुटर बोलाएर हत्या गर्न लागेको बताएका थिए । रुपेशलाई मार्ने योजनामा राधालाई रुपेशकै स्कूलका दुई जना कर्मचारी जमील अख्तर र रियाज अन्सारीले साथ दिएको प्रहरीको भनाई छ ।

यद्यपि रुपेशको परिवारको सदस्यले भने प्रहरीले राम्रोसँग अनुसन्धान नै नगरेर हचुवाको भरमा प्रेम सम्बन्ध देखाउँदै रुपेश र परिवारलाई बद्नाम गरेको आरोप लगाएका छन् । बुधवार नै रुपेशका दाइ सुमोध गुप्ताले भाइको कुनै महिलासँग विवाहेत्तर सम्बन्ध नरहेको र प्रहरीले आफ्नो कमजोरी लुकाउन यस्तो बताएको आरोप लगाए । उनले नै पक्राउ परेका जमील र रियाज निर्दोष रहेको समेत बताएका थिए ।

यता, बारा प्रहरीले रुपेश हत्याकाण्डमा बुधवार पछि कुनै जानकारी दिएको छैन । पत्रकार सम्मेलनमा पनि बारा प्रहरीका एसपी काफ्ले प्रश्नहरूबाट पन्छी रहेका थिए ।

Back to top