×

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटाले कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) को हत्या विषयमा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै सिडिओ सापकोटाले सर्राफको हत्या सम्बन्धी आफूले दिएको अभिव्यक्तिले बारा जिल्लावासी माथि पर्न गएको दुःखलाई मध्यनजर गर्दै फिर्ता लिएको जनाएका छन् ।

सिडिओ सापकोटाले रुपेशको हत्याको भोलिपल्ट मङ्गलवारका दिन सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै व्यक्तिगत आचरणका कारण उनको हत्या भएको अभिव्यक्ति दिएका थिए । उनले हत्या प्रेम सम्बन्धका कारण भएको पुष्टिसमेत गरेका थिए ।

‘रुपेशको हत्याकाण्ड कुनै आपराधिक समूहले गरेको होइन, व्यक्तिगत आचरणको कारण हो । हत्याको विश्लेषणमा व्यक्तिगत आचरणले मृत्यु भएको हो,’ उनले भनेका थिए, ‘मृतक सर्राफको एउटा महिलासँग अनैतिक सम्बन्ध थियो । त्यही सम्बन्धका कारणले महिला र उनका आफन्तले मिलेर हत्या गरेको अनुसन्धानमा पाइएको छ ।’

उनले प्रेम सम्बन्ध कै कारण रुपेशमाथि यसअघि पनि आक्रमण भएको बताएका थिए । अन्य केही सबुत पनि फेला नपरेको कारण प्रेम सम्बन्धकै कारण रुपेशको हत्या भएको प्रहरीले निर्क्योल निकालेका उनले बताएका थिए ।

यद्यपि सापकोटाको अभिव्यक्तिलाई रुपेशको परिवारका सदस्यले खारेज गरेका थिए । बुधबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै रुपेशका दाइ सुमोध सर्राफले सिडिओ सापकोटाले दिएको अभिव्यक्तिको खण्डन गर्दै फिर्ता लिन माग गरेका थिए । कलैयाका स्थानीयहरूले पनि सिडिओ सापकोटाले गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको बताउँदै सामाजिक सञ्जाल मार्फत विरोध गरेका थिए । दबाबका आएर सापकोटाले आफ्नो अभिव्यक्ति फिर्ता लिएको बुझिएको छ ।

रुपेशमाथि सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएको चार जनाको समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर रूपले घाइते भएका उनको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा मृत्यु भएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पनि रुपेशको हत्याको कारण प्रेम सम्बन्ध र व्यक्तिगत रिसीइबी रहेको बताएको छ । अनुसन्धानका क्रममा बाल एकता स्कूलकै एक जना पूर्व कर्मचारी राधा गुप्तासँग रुपेशको विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको दाबी छ । राधा अहिले प्रहरी नियन्त्रणमा छिन् । उनलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले राधासँगै अन्य चार जनालाई पनि रुपेशको हत्यामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधवार पत्रकार सम्मेलन नै गरेर रुपेशको हत्यामा संलग्न रहेको आरोपमा राधासँगै जमील अख्तर, रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपूतलाई सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग मिलेर रुपेशलाई मार्ने योजना बनाएकी थिइन् । यद्यपि पक्राउ परेकामध्ये चार जनालाई प्रहरीले योजनाकार र एक जनालाई सुटर समूहको सदस्य भएको बताएको छ । तर, रुपेशमाथि आक्रमण गर्ने सुटरहरूलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

भारतबाट हातहतियारसहित नेपाल प्रवेश गरेका सुटरहरू दिनदहाडै रुपेशमाथि गोली चलाएर फेरी भारत तर्फ भागेका थिए । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको दाबी छ ।

यता, रुपेशका परिवारका सदस्यले प्रहरी अनुसन्धानमाथि प्रश्न खडा गरेका छन् । उनीहरूका अनुसार आफ्नो कमजोरी लुकाउन प्रहरीले प्रेम सम्बन्ध देखाएर रुपेशको चरित्र हत्या गर्न खोजिरहेको छ । रुपेशका दाइ सुमोध सर्राफले आफ्नो भाइको कुनै परस्त्रीसँग सम्बन्ध नरहेको दाबी गरेका छन् । उनले पक्राउ परेका रियाज अन्सारी र जमिल अख्तरलाई पनि प्रहरीले फसाएको आरोप लगाएका छन् । उनीहरूको रिहाइको माग गर्दै शुक्रवार मात्रै कलैयामा स्थानीयहरूले प्रदर्शन गरेका थिए ।

अर्कोतर्फ बुधवारको पत्रकार सम्मेलन पछि बारा प्रहरीले रुपेश हत्याकाण्डको विषयमा कुनै नयाँ जानकारी दिएको छैन । बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले पत्रकार सम्मेलनमा सुटरहरूको पहिचान भइसकेको र छिटै पक्राउ गरिने बताएका थिए । तर आज हत्या भएको छैठो दिनसम्म पनि सुटरहरू फरार छन् । 

सिमानाकाहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मीको उपस्थिति रहे पनि भारतबाट हत्याराहरू नेपाल प्रवेश गर्ने र हत्या गरेर पुनः फिर्ता भाग्नुले बारा प्रहरीको शान्ति व्यवस्थामाथि नै ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।

Back to top