×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – ६ मा बिहीबार बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीका अनुसार जितपुरसिमरा – ६ स्थित स्थानीय एक व्यक्तिको खेतमा घाँटी थिची हत्या गरिएको अवस्थामा अन्दाजी २५ देखि ३० वर्ष उमेर भएको अज्ञात महिलाको शव बरामद भएको हो ।

सल अर्थात् दुपट्टाको प्रयोग गरेर महिलाको घाँटी थिचिएको डिएसपी क्षेत्रीले बताए । उनका अनुसार हत्या दुईदेखि तिन दिन पहिला भएको छ । ‘शव कुहिएको अवस्थामा बरामद भएको छ, शरीरको अधिकांश भागमा किरा लागिसकेको छ,’ उनले भने । तराई मूलको जस्तो देखिने शवको अनुहारमा समेत किरा लागिसकेकोले महिलाको पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए ।

महिलाको मुखमा समेत दुपट्टाको टुक्राहरू भेटिएको कारण मुख थुनेर सोही दुपट्टाले घाँटी थिची हत्या गरिएको हुनसक्ने डिएसपी क्षेत्रीको भनाई छ । ‘आत्महत्या होइन, हत्या त हत्या नै हो । अनुसन्धान गर्दै छौँ, छिट्टै थप जानकारी उपलब्ध गराउने छौँ,’ उनले थपे । महिलाको शव हाल पोस्ट मार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।

बिहान मर्निङ वाकमा गएको बेला शव देखेर स्थानीयहरूले करिब ७ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै इलला प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको टोली घटनास्थलमा पुगेको थियो ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी क्षेत्रीले जानकारी दिए । शव बरामद भएको क्षेत्रमा विगत दुई-तिन भित्र कुनै महिला हराएको घटना नभएको कारण शव स्थानीय महिलाको नभएको प्रहरीले निष्कर्ष निकालेको छ । अन्य ठाउँमा हत्या गरेर शव ल्याएर घटनास्थलमा राखिएको हुनसक्ने अथवा त्यहाँ ल्याएको हत्या गरिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्ले र प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रहरी प्रवक्ता दधिराम न्यौपानेसँग सम्पर्क गर्न खोज्दा उनीहरूले फोन उठाएनन् ।

शव बरामद भएको महिलाको हत्यासँगै बारामा पछिल्लो पाँच दिन भित्र दुई जनाको हत्या भएको छ । यसअघि जिल्लाको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको दिनदहाडै कलैया – ६ स्थित मदर्शा टोलमा गोली हानी हत्या गरिएको थियो ।

पछिल्लो समय बारा जिल्लामा हत्या, चोरी, डकैती, तस्करी लगायतका घटनामा ह्वातै वृद्धि भएको छ ।

Back to top