×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंहासन सा तेलीले पदको दुरुपयोग गर्दै आफ्नै छोराको नाममा रहेको घर नगरपालिकाको कार्यालय सञ्चालन गर्न भाडामा लगाएको खुलासा भएको छ ।

आफ्नै भवन नरहेको बहुदरमाई नगरपालिका कार्यालयलाई विषयगत शाखा सञ्चालन गर्न मेयर तेलीले आफ्ना जेठा छोराको नाममा रहेको दुई तल्ले घर भाडामा लगाएको खुलासा भएको हो ।

बहुदरमाई – ४ बहुअरी पिडारीस्थित कित्ता नम्बर ९५१ र ९४९ मा रहेको दुई तल्ले घर ओमप्रकाश साहको नाममा छ । ओमप्रकाश मेयर तेलीका जेठा सन्तान हुन् ।

सोही घरको भुईँ र पहिलो तल्लामा नगरपालिकाले विगत डेढ वर्षदेखि आफ्नो विषयगत शाखा सञ्चालन गरिरहेको छ । घर भाडामा लिए बापत नगरपालिका कार्यालयले ओमप्रकाशलाई मासिक ४२ हजार रुपैयाँ (१० प्रतिशत घर बहाल कर कट्टा गरी) भुक्तानी समेत गर्ने गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित भएको दुई महिना नबित्दै मेयर तेलीले विषयगत शाखा सञ्चालन हुँदै आएको घरलाई खाली गराएर छोराको नाममा रहेको घरमा सारेका थिए । 

विषयगत शाखा स्थापना गर्न २०७९ साउन १ गतेका दिन घरधनी ओमप्रकाश साह र नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीबिच सम्झौता भएको थियो । मासिक ४२ हजार रुपैयाँ एक वर्षका लागि भएको सम्झौताको रोहबरमा स्वयम् मेयर तेलीले हस्ताक्षर गरेका छन् ।

एक वर्षका लागि भएको सम्झौता २०८० असार ३० गते समाप्त भयो । अहिले फेरी त्यसलाई नवीकरण गरिएको छ । २०८० भदौ २४ गते भएको नयाँ सम्झौता नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहले हस्ताक्षर गरेका छन् । २०८१ असार ३० गतेसम्मका लागि भएको उक्त सम्झौताको रोहबरमा पनि मेयर तेलीकै हस्ताक्षर छ । सम्झौतामा पुरानै भाडा दरलाई निरन्तरता दिइएको छ ।

विषयगत शाखा स्थापना गर्नका लागि नगरपालिकाले भवन भाडा लिँदा अपनाएको प्रक्रिया बारे सूचना माग गर्दै पनि उपलब्ध गराएन । सार्वजनिक खरिद ऐन २०६४ को परिच्छेद–९ को दफा ९४ मा जिल्ला स्तरको सार्वजनिक निकायहरूले घर भाडामा लिन कार्यालयको सूचना पाटीमा कम्तीमा सात दिनको अवधिको सूचना टाँस गरी भाडाको प्रस्ताव माग गर्नु पर्ने व्यवस्था छ ।

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले विषयगत शाखा रहेको भवन मेयर तेलीको छोरा ओमप्रकाश साहकै नाममा रहेको स्वीकार गरे । यसअघि विषयगत शाखा सञ्चालित भवनको भाडा बढी भएको कारण मेयर तेली निर्वाचित भएर आएपछि त्यसलाई सारेर आफ्नै छोराको नाममा रहेको घरमा सस्तो दरमा भाडा दिएर सारेको उनको भनाई छ । उनले भने, ‘पहिले रहेको भवनको भाडा हालको भन्दा झन्डै ३० – ४० हजारले महँगो थियो । त्यसैले शाखा सारेर मेयर सा'बले आफ्नै छोराको नाममा रहेको घरमा ल्याएका हुन् ।’

Back to top