×

वीरगञ्ज । बाराको सदरमुकाम कलैया उपमहानगरपालिकास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कूलमा प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा बारा प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

कलैया - १ निवासी महिलालाई बारा प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । सर्राफको हत्यामा उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । यद्यपि पुष्टि नभएको उनको पहिचान प्रहरीले खुलाइएको छैन ।

आज दिउँसो एक बजेको करिवमा कलैया - ७ स्थित मदर्शा टोलमा दुई वटा मोटराइकलमा सवार चार जनाको अज्ञात समूहले सर्राफको गोली प्रहार गरी हत्या गरेको थियो । गोली उनको टाउको, घाँटी र छातीमा लागेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सर्राफको शव हाल पोस्ट मार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

Back to top