×

वीरगञ्ज । अज्ञात समूहको गोली प्रहारबाट घाइते बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाका रुपेश सर्राफको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो मोटरसाइकलमा सवार अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार सोमबार दिउँसो गोली लागि गम्भीर रूपले घाइते भएर उपचारका लागि वीरगञ्ज ल्याइएका सर्राफको उपचारका क्रम मृत्यु भएको छ । उनको टाउको, छाती र घाँटीमा गोली लागेको बुझिएको छ ।

३५ वर्षीय सर्राफ कलैयास्थित बाल एकता इङ्ग्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक (प्रिन्सिपल) हुन् ।

सोमबार दिउँसो करिब सवा १ बजेको समयमा आफ्नो स्कूलबाट कलैया बजार तर्फ जाँदै गर्दा सर्राफमाथी कलैया उपमहानगरपालिका – ६ स्थित मदर्शा टोलमा रहेको पन्ना देवी स्कूल अगाडि दुई वटा मोटरसाइकलमा सवार चार जनाको अज्ञात समूहले गोली प्रहार गरेको थियो । 

गोली प्रहारबाट गम्भीर घाइते सर्राफलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा लागिएको थियो । यद्यपि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ल्याइएको थियो । यहाँ उपचारका क्रममा उनको मृत्यु भएको एसपी शाहले जानकारी दिए ।

घटनास्थलमा अहिले बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्ले पुगेका छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Back to top