×

वीरगञ्ज । दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको छ । असोज १६ गते बजारमा ६ खर्ब २० अर्ब रुपैयाँ बराबर नगद चलनचल्तीमा रहेकोमा कात्तिक ९ गतेसम्ममा बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । भदौ मसान्तसम्म बजारमा ६ खर्ब ३ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा थियो । 

दशैंको अवसरमा राष्ट्र बैंकले नयाँ खुद्रा नोट साटिदिने व्यवस्था गरेको थियो । यसबाहेक दशैंका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेकाले बजारमा चलनचल्तीमा रहेको नगद बढेको हो । ‘दशैंमा आर्थिक कारोबार बढ्ने भएकाले चलनचल्तीमा रहेको मुद्रा पनि ७६ अर्ब रुपैयाँले वृद्धि भएको छ,’ प्रवक्ता भट्टले भने, ‘यो नगद बजारबाट विस्तारै बैंकिङ प्रणालीमा फर्किन्छ ।’

दशैंको अवसरमा राष्ट्र बैंकले आफ्ना कार्यालयका साथै वाणिज्य बैंकका शाखाबाट ५ देखि १०० रुपैयाँसम्मका खुद्रा नयाँ नोट सटही गर्न पाउने सुविधा दिएको थियो । खुद्रा नोट सटहीबाट बजारमा गएको नगदबारे छुट्टै तथ्यांक भने राष्ट्र बैंकले राखेको छैन ।

राष्ट्र बैंकले नोट साट्न आउनेलाई ५, १०, २०, ५० र १०० रुपैयाँका १/१ बन्डल गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म साटिदिने गरी सीमा तोकेको थियो । पछिल्लो समय राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरे पनि नगदको प्रयोग घट्न सकेको छैन । यस वर्ष विगत वर्षहरूको तुलनामा बढी नगद बैंकिङ प्रणालीबाट बाहिरिएको प्रवक्ता भट्टले जानकारी दिए । 

Back to top