×

वीरगञ्ज । सीमा क्षेत्रका सहरमा एक सयभन्दा ठूला भारतीय नोट नचल्दा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए। “नेपाल राष्ट्र बैंकले एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ।”

भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ। भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन्। गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन्।

नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राकह ठगिने गरेको अर्को समस्या पनि छ। उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन्। चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ ।

सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन्। 

नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिनु भएकी धनगढीकी मनमति विष्टले बताए।

बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन्। सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन्। 

त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन्। साभार :थाहा खबरबाट

Back to top