×

वीरगञ्ज । वीरगञ्ज चिया प्रेमीहरूको सहर हो । तपाईँले यहाँ चियालाई नाइँ भन्ने सायदै कोही भेटाउनु हुन्छ होला । बिहान होस्, दिउँसो होस् वा अबेर राती; चिया खाने प्रस्ताव आएपछि वीरगञ्जेलीहरूले नाइँ भन्दैनन् ।

वीरगञ्जवासीहरूको चियाको यहीँ प्रेममा व्यवसायको अवसर देख्दै तिन युवाहरूले ‘क्याफे ३१५’ सञ्चालनमा ल्याएका छन् । व्यवस्थापन सङ्काय पढिरहेका युवाहरूले पठनपाठनसँगै पाकेट खर्चका लागि वीरगञ्जको बिर्ता चोकमा ‘क्याफे ३१५’ सुरुवात गरेका हुन् ।

तर, पाकेट खर्च जुटाउन खोलिएको क्याफे अहिले उनीहरूको सोचभन्दा पनि ठूलो बनेको छ । क्याफेबाट पाकेट खर्च त जुटेकै छ, पठनपाठनको सम्पूर्ण खर्च उठाउनेदेखि परिवारलाई आर्थिक सहयोग गर्न समेत उनीहरू अहिले सक्षम भएका छन् ।

अंशु झा, प्रियांशु झा र कुशल खनालले लगभग तिन महिना अगाडि सुरुवात गरेको क्याफेमा अहिले चियासँगै खाजाको पनि व्यवस्था छ । झट्ट हेर्दा अगाडि सानो पसल जस्तो मात्र अगाडि देखिए पनि चिया पिउँदै गफिनका लागि पछाडि प्रशस्तै खुल्ला ठाउँ छ । क्याफे ३१५ अहिले चिया पिउने युवाहरूको नयाँ अड्डा नै बनेको छ ।

ग्राहकको चाप बढेपछि अहिले क्याफे ३१५ लाई आकारमा ठूलो बनाइँदै छ ।

Back to top