वीरगञ्ज । सशस्त्र प्रहरी बल नम्बर १३ गणका पर्सा, वीरगञ्जले १४ दिनको अवधिमा झन्डै ५८ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।
भारतलगायतका स्थानबाट तस्करी र भन्सार छली मार्फत नेपाल भित्र्याइएको ५७ लाख ८४ हजार ६ सय ६२ रुपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले पर्सा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेर वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको हो ।
गणका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले उपलब्ध गराएको तथ्याङ्कका अनुसार असोज १ देखि १४ गतेसम्ममा गण र मातहतमा जिल्ला भरी रहेका युनिटहरूले २ लाख ५३ हजार ४ सय रुपैयाँको ११२ थान काठ, २२ हजार ५ सय रुपैयाँको ८५ किलोग्राम बोइलर कुखुरा, ९६ हजार १ सय १३ रुपैयाँको दुई झोला औषधी, हुन्डीको ८० हजार रुपैयाँ नगद, २१ लाख ६८ हजार ६ सय ४१ रुपैयाँको २० बोरा लत्ता कपडा, २ लाख ५१ हजार १ सय ४८ रुपैयाँको खाद्यान्न बरामद गरेका छन् ।
त्यस्तै युनिटहरूले ७० हजार ४ सय ६० रुपैयाँको ११ झोला हार्डवेयर सामग्री, २३ हजार २ सय रुपैयाँको किराना सामग्री, ४५ हजार ८ सय रुपैयाँको पाँच गोटा पशु चौपाया, ४४ हजार ४ सय रुपैयाँको दुई सय ९० लिटर मिटर, १ लाख ५ हजार रुपैयाँको दुई वटा मोटरसाइकल, २५ लाख रुपैयाँको एउटा कार, १ लाख रुपैयाँको एउटा ई-रिक्सा र २० हजार रुपैयाँको ४ वटा साइकल गरेर कुल ५७ लाख ८४ हजार ६ सय ६२ रुपैयाँ बराबरको मालसामानहरू बरामद गरेर भन्सार र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
यस अवधिमा १० किलोग्राम गाँजा, १२०/१२० थान नोफिन, डाईजापाम र फेनार्गन पनि बरामद गरिएको श्रेष्ठले बताए । सीमा सुरक्षासँगै अवैध कारोबार तथा भन्सार छली नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेको उनले बताए ।