×

तस्बिरहरू : जिल्ला प्रहरी कार्यालय बारा ।

वीरगञ्ज । प्रेमीसँग मिलेर पतीको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका – ६ लक्षिमनियीमा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी पत्नी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो । नेपाल छोडेर भाग्दै गर्दा उनलाई सिमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोनमले आफ्नो प्रेमीसँग मिलेर अजितको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल–भारतको सिमानाका नजिकै गोली हानी हत्या गरेका थिए ।

हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, सोही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्ले जानकारी दिए । भारतीय प्रहरीसँगको समन्वयमा फरार रहेकाहरूको खोजी कार्य भइरहेको उनको भनाई छ ।
 
एसपी काफ्लेका अनुसार सोनमले प्रेमी सुजितसँग योजना बनाएर अजितको हत्या गरेकी थिइन् । भारतीयलाई नेपालमा ल्याएर हत्या गरे पक्राउ नपर्ने भन्ने मनसायले उनीहरूले अन्य आरोपितहरूसँग मिलेर बारा जिल्लाको सिमानाका नजिकै ल्याएर अजितको गोली हानी हत्या गरेका थिए । सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको प्रहरीलाई बयान दिने क्रममा स्वीकार समेत गरेको एसपी काफ्लेले बताए ।

घटनाको दिन सुजितले अजितलाई आफ्नो मोटरसाइकलमा पछाडि बसाएर भारतसँग जोडिएको नेपाली सिमानाका लक्ष्मीनियासम्म ल्याएका थिए । त्यहाँ अजितमाथि सुजितले गोली प्रहार गरेका थिए । अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । अजितको हत्या पश्चात् सुजितले सोनमलाई फोन गरेर काम भएको भन्दै भाग्न आग्रह गरेका थिए । उनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।

घटना पछाडिको कारण प्रेम सम्बन्ध मात्र नभई पैसा पनि रहेको बारा एसपी काफ्लेको भनाई छ । सुजित र अजित एउटै आपराधिक समूहका सदस्य हुन् । उनीहरूले करिब तिन वर्ष अगाडि भारतको घोडासहनको एक ठाउँमा सुन लुटपाट गरेका थिए । सुन विक्री गरेर आएको आठ लाख रुपैयाँ नगदको विषयलाई लिएर उनीहरूबिच लामो समयदेखि विवाद चल्दै आएको थियो ।

सुन बेचेर उनीहरूले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी अर्थात् आफ्नो प्रेमिका सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडि बढ्न खोजेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको एसपी काफ्लेले बताए । समूह २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्यामा समेत संलग्न रहेको खुलेको छ ।

त्यस्तै सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई पनि यही समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजितले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । उक्त घटना प्रकरणमा प्रहरीले भारत घोडासहनका प्रमोद रामलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

Back to top