×

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो नायक बन्दा अल–नासरले साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो । खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए ।

तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।

त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् । योसँगै लिगमा उनले लगातार १८ औँ सिजन दोहोरो अंकमा गोल गर्न सफल भएका छन् । पछिल्लो पटक सन् २००४र०५ सिजनमा उनले यो उपलब्धि हासिल गर्न चुकेका थिए ।

त्यस यता उनले क्लबका लागि ७११ गोल गरिसकेका छन् । लिगमा लगातार छैटौँ जीतसहित टोली चौथो स्थानमा उक्लिएको छ ।  उता फ्रान्सेली पिएसजीबाट साउदी पुगेका ब्राजिलियन स्टार नेइमारले भने झड्का खाएका छन् । तर उनको टिम अल हिलालले भने जितसहित ३ अंक बटुलेको छ ।

नेइमारले ३७औं मिनेटमा पाएको पेनाल्टी मिस गर्दा उनले लिगमा गोलको खाता खोल्न सकेनन् ।  साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल शबाबलाई २–० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा कालीडोउ कोउलीबाली र अलेक्सान्दर मिट्रोभिकले एक एक गोल गरे । जितपछि अल हिला साउदी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।  

 

Back to top