×

पिडित भनिएका (बायाँबाट) दिलीपकुमार साह र सानु सिन्हा । तस्बिर : यात्रा डेली ।

वीरगञ्ज । वीरगञ्जस्थित दुग्धेश्वर कृषि तथा पशुपन्छी फर्म लिमिटेडका सञ्चालक सुनिल पाण्डेले मिटर ब्याजको धन्दा चलाइरहेको आरोप लागेको छ ।

पाण्डेले दुग्देश्वर कृषि तथा पशुपन्छी फर्म लिमिटेडको नाममा नेपाल बैङ्कबाट सहुलियत दरमा कर्जा उठाएर सयकडा ३६ देखि ७२ प्रतिशतसम्मको दरमा मिटर ब्याजमा पैसा चलाउने गरेको आरोप लागेको हो ।

कृषि व्यवसायीको खोल ओढेर पाण्डेले आदर्शनगर लोहारपट्टी रोडस्थित फर्मको कार्यालयबाट मिटर ब्याजको धन्दा चलाउने गरेको वीरगञ्ज – १२ निवासी सानु सिन्हा बताउँछन् । उनका अनुसार पाण्डेले पर्सा, बारा, रौतहटलगायत यस क्षेत्रका सयौँलाई सयकडा ३६ देखि ७२ प्रतिशतको ब्याज दरमा ऋण दिएका छन् । ऋण दिँदा पाण्डेले धरौटीका रूपमा ब्ल्याङ्क चेक (खाली चेक) लिने गरेको सिन्हाको भनाई छ ।

पर्साको पकाहाँमैनपुर गाउँपालिका – २ मानीपुर निवासी पाण्डेले फर्मको नाममा ऋणीहरूलाई दिन पासबूकसमेत जारी गरेको भेटिएको छ । पासबूक मार्फत उनले ऋणीसँग दैनिक रूपमा किस्ता बुझ्छन् । समयमा पैसा तिर्न नसक्ने व्यक्तिको चेकमा पाण्डेले तिन गुणा बढीसम्म रकम थपेर बाउन्स गराई फसाउने गरेको सिन्हाले बताए ।

सिन्हाका अनुसार उनी प्रबन्धकका रूपमा कार्यरत रहेको वीरगञ्ज – ६ सर्राफ मार्केटस्थित दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुपेश पटेललाई पनि पाण्डेले विभिन्न मितिमा सयकडा ७२ प्रतिशतको दरमा ८२ लाख रुपैयाँ कर्जा दिएका थिए । सहकारी मार्फत रुपेशले ७७ लाख फिर्ता गरे पनि पाण्डेले धरौटीका रूपमा लिएको चेकमा ८२ लाख रुपैयाँ लेखी बाउन्स गराएको सिन्हाको आरोप छ । 

‘सुनिल पाण्डेले २०७७ पुसदेखि २०७८ चैत मसान्तसम्म १९ पटक गरी ८२ लाख रुपैयाँ दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई कर्जा दिएका थिए,’ सिन्हाले यात्रा डेलीलाई भने, ‘दिएको कर्जाबाट पाण्डेले किस्ता-किस्ता गरेर २०७९ वैशाख मसान्तसम्म ७७ लाख रुपैयाँ पनि बुझे । तर, किस्ता तिर्न केही समय ढिलाइ हुँदा उनले धरौटीका रूपमा लिएको ब्ल्याङ्क चेकमा ८२ लाख लेखेर बाउन्स गराए ।’ पाण्डेको कृषि फर्ममा कार्यरत बजार प्रतिनिधि नितेशकुमार चौसियाले दैनिक १० देखि ३० हजारसम्म बुझेर लगेको आफूसँग प्रमाणसमेत रहेको सिन्हाले बताए ।

साँवा पाँच र ब्याज आठ लाख गरी कूल १३ लाख रुपैयाँको हाराहारीमा तिर्न बाँकी रहँदा पाण्डेले गरिमा विकास बैङ्क मार्फत ८२ लाख रुपैयाँको चेक बाउन्स गराएर आफूहरूलाई फसाएको सिन्हाको दाबी छ । 

सहकारी सञ्चालक रुपेश पटेल र सुनिल पाण्डेबिच भएको लेनदेनमा आफू अनाहकमा फसेको सिन्हाको दुखेसो छ । दैनिक बचत सहकारीमा कार्यरत रहँदा आफूले दस्तखत गरेर कार्यालय प्रयोजनका लागि राखेको ब्ल्याङ्क चेकलाई पटेलले दुरुपयोग गर्दै पाण्डेलाई दिँदा आफू अनाहकमा फसेको सिन्हाले बताए । सहकारीमा व्यवस्थापन बाहेक सरोकार नहुँदा पनि पाण्डेले आफूलाई सहकारीको कोषाध्यक्ष बनाएर प्रहरीमा मुद्दा दिएको उनको भनाई छ । ‘म सहकारीमा कर्मचारी थिए, व्यवस्थापन, सञ्चालक समितिको सदस्य अथवा कुनै पदाधिकारी नहुँदा पनि मलाई फसाइएको छ । मेरो केही दोष नभए पनि मलाई प्रहरीले समात्यो, अहिले धरौटीमा छुटेको छु,’ सिन्हाले भने ।

त्यस्तै रौतहटको परोहा नगरपालिका – ४ घर भई हाल वीरगञ्ज – ११ मुर्लीमा किराना पसल सञ्चालन गरिरहेका दिलीपकुमार साह पनि पाण्डेको फर्मबाट ऋण लिँदा पीडित बनेका छन् । सयकडाको ३६ प्रतिशतमा पाण्डेसँग लिएको ऋणलाई उनले ७२ प्रतिशतको भनेर आफूसँग दोहोरो रकम असुल्न खोजिरहेको साहको आरोप छ । 

साहका अनुसार उनले २०७६ साल माघ १३ गतेदेखि २०७९ कात्तिक महिनासम्म पाण्डेबाट पटक-पटक गरी १३ लाख २० हजार रुपैयाँ ऋण लिएका थिए । व्यापार बढाउन आफूले पाण्डेले सयकडा ३६ प्रतिशतको दरले ऋण लिएको उनको भनाई छ ।

पाण्डेलाई आफूले पटक-पटक गरी ७ लाख रुपैयाँ भुक्तानी पनि गरेको साहले बताए । बाँकी रकम एकमुस्ट तिर्न जाँदा पाण्डेले सयकडा ३६ प्रतिशतमा लिएको ऋणलाई ७२ प्रतिशत भनेर हिसाब गरेको उनको आरोप छ । ‘बाँकी रकम तिर्न जाँदा सुनिल पाण्डेले तिमीलाई ७२ प्रतिशतको दरले ऋण दिएको हुँ, सोही अनुसार फिर्ता गर्नुपर्छ भन्दै मसँग दोहोरो रकम बुझ्न खोजे, ‘साहले भने । 

रकम तिर्न नमानेपछि पाण्डेले धरौटीका रूपमा लिएको चेकमा ६३ र ३१ लाख रुपैयाँ भरेर बाउन्स गराइ आफूविरुद्ध बैङ्किङ कसुर मुद्दा दिएको साहको दुखेसो छ । उनका अनुसार पाण्डेले अझै उनको ३ वटा ब्ल्याङ्क चेक राखेका छन् । पाण्डेले चेक बाउन्स गराउनु अगाडि नै साहले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा अनुचित लेनदेन (मिटर ब्याज)को उजुरी दिएको बताए । ‘मैले समयमा उजुरी नदिएको भए अहिलेसम्म म थुनुवामा हुन्थे,’ साहले भने ।

साहका अनुसार पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा अहिलेसम्म पाँच जनाभन्दा बढीले मिटर ब्याजको उजुरी दिएका छन् । यद्यपि त्यहाँका कर्मचारीहरूलाई मिलाएर उनी उम्किरहेको साह बताउँछन् ।

पैसा पचाउने षडयन्त्र हो : पाण्डे

दुग्धेश्वर कृषि तथा पशुपन्छी फर्म लिमिटेडका सञ्चालक पाण्डेले आवश्यकता पर्दा दिएको पैसा पचाउन दैनिक बचत सहकारीका सञ्चालक रुपेश पटेल, प्रबन्धक सानु सिन्हा र दिलीपकुमार साहले विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाए । समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा २० पटक छलफल गर्दा समेत उनीहरूले आफूलाई दोषी देखाउन नसकेपछि अहिले मिडिया मार्फत अनर्गल प्रचार गर्न खोजिरहेको पाण्डेको भनाई छ ।

आवश्यक परेको खण्डमा सहयोग गरेको पैसा फिर्ता गर्ने नमानेपछि बाध्य भएर आफूले पटेल, सिन्हा र साहविरुद्ध कानुनी उपचार खोजेको पाण्डेले बताए । 

पाण्डेका अनुसार दैनिक बचत सहकारीका सञ्चालक पटेलसँग उनले एक करोड १३ लाख रुपैयाँ लिनुपर्ने थियो । जसमध्ये उनले हालसम्म ६ लाख रुपैयाँ जति मात्र फिर्ता गरेका छन् । बाँकी रकम केही समयमा फिर्ता गर्छु भनेर पटेलले दिएको सहकारीको ८२ लाख रुपैयाँको चेक भजाउन खोज्दा बाउन्स भएको पाण्डेको कथन छ ।

एक करोड भन्दा बढी रकम ऋणका रूपमा किन दिएको भन्ने प्रश्नमा पाण्डेले सहकारीलाई ऋण नदिई बचत गर्न जम्मा गरेको बताए । उनको कृषि फर्ममा कार्यरत नितेशकुमार चौरसियाले सहकारीबाट विभिन्न मितिमा ७७ लाख रुपैयाँ बुझेको प्रश्नमा उनले त्यस्तो नभएको बताए । ‘मेरो कर्मचारी अथवा मैले रकम बुझेको छु भने प्रमाणसहित अदालतमा जानुपर्‍यो, मिडियामा गएर के हुन्छ ? अदालतले आफै प्रमाण केलाएर दोषी उपर कारबाही गर्छ,’ उनले भने । दैनिक बचत सहकारीले आफूसहित सयौँ सर्वसाधारणको करोडौँ रुपैयाँ लुटेको उनको भनाई छ ।

उनले कृषि फर्मबाट कुनै किसिमको पासबूक जारी नभएको पनि दाबी गरे । दैनिक बचत सहकारी र दिलीपकुमार साह लगायतलाई दिएको ऋणको स्रोत बारे प्रश्न गर्दा पाण्डेले विभिन्न बैङ्कबाट आफूले पाँच करोड भन्दा बढी व्यावसायिक ऋण लिएको र सोहीबाट दैनिक बचतमा जम्मा गरेको र आवश्यक परेको खण्डमा दिलीप साहलाई ऋण दिएको उनले प्रष्ट पारे । पाण्डेले उनीहरू बाहेक आफूविरुद्ध कसैले पनि मिटर ब्याजको उजुरी नदिएको पनि दाबी गरे ।

Back to top