×

वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लामो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै जनतालाई त्यसको अनुभूति गराउन तर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् ।

आइतबार वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै आम नेपाली जनतालाई त्यसको अनुभूति गराउन वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर काम गरिरहेको बताए । 

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले कार्यभार सम्हालेको दिन घोषणा गरे अनुसार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर वर्तमान सरकारले काम गर्नमा सरकारको ध्यान केन्द्रित छ । राज्यका सम्पूर्ण संयन्त्रलाई सोही अनुसार काम गर्न निर्देशन पनि दिएका छौँ ।’ यसमा हालसम्म सरकार सफल भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो ।

जनतालाई लोकतन्त्रको अनुभूति गराउन नियमित कामका लागि पनि घुस दिनुपर्ने, सोर्सफोर्स लगाउनु पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनले बताए । ‘अरू धेरै कुराभन्दा पनि जनतालाई राजनीतिक परिवर्तनको अनुभूति दिलाउन संविधान र कानुनअनुसार नियमित कामहरू गराउनु घुस खुवाउनु पर्ने, आर्थिक रूपले प्रभावित गर्नुपर्ने, दलाली र चाकरी गर्नुपर्ने स्थितिको अन्त्य गर्न जरुरी छ,’ उनले भने, ‘राज्य संयन्त्रका सम्पूर्ण निकाय यसमा गम्भीर हुनुपर्छ ।’

विभिन्न मुलुकमा श्रम गरिरहेका युवाहरूलाई नेपाल फर्काएर स्वदेशमै रोजगारीको दिने जिम्मेवारी पनि सरकारको भएको उनले बताए । ‘आज देशका ३० लाख भन्दा बढी युवाहरू खाडीका विभिन्न मुलुकमा ५० डिग्रीको तापक्रममा काम गर्न बाध्य छन्,’ उनले भने, ‘यो स्थितिको अन्त्य गर्दै श्रमिक नेपाली युवाहरूका लागि देशमै रोजगारी र कामको अवसरहरू सृजना गर्दै आफ्नो आमा बुवाको काखमा, बालबच्चाको साथमा बस्ने सक्ने अवस्थाको निर्माण गर्नु हाम्रो जिम्मेवारी हो ।’ वर्तमान सरकारले सोही अनुसार काम पनि गरिरहेको उनले दाबी गरे ।

मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै आर्थिक विकासको सहभागी बनाउन जरुरी रहेको बताए । निजी क्षेत्रलाई साथमा लिएर नहिँडेसम्म समृद्धिको यात्रालाई निष्कर्षसम्म पुर्‍याउन नसकिने उनको भनाई थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेस सरकारका राज्यमन्त्री रहबर अन्सारीलगायतले पनि सम्बोधन गरेका थिए ।

Back to top