×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका – २ पिपरा गाउँमा बहुदरमाई मन्दिर जाने सडकमा खसाइएको नालाको फोहरका कारण १० जनाभन्दा बढी स्थानीयहरू घाइते भएका छन् ।

वर्षाको कारण बिग्रिएको सडकलाई मर्मत गर्ने नाममा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेलीको निर्देशनमा नालाबाट निस्किएको फोहर ल्याएर थुपारेपछि उक्त बाटो प्रयोग गर्ने १० जनाभन्दा बढी स्थानीयहरूको खुट्टा कटेको हो ।

स्थानीयहरूका अनुसार घाइते हुनेमा अधिकांश बच्चाहरू छन् । सडकमा थुपारिएको नालाबाट निकालिएको फोहरमा रहेको सिसा लगायतका अन्य धारिलो बस्तुबाट बाटो हिँड्ने बच्चाहरूको खुट्टा कटेको छ । विरोध गर्दा समेत वडाध्यक्षदेखि मेयरसम्मले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । बाटोमा जम्मा भएको फोहरबाट चोटपटक लाग्ने भयका कारण स्थानीयहरू खेत हुँदै आवतजावत गर्न बाध्य भएका छन् । 

बीच बाटोमै नालाबाट निस्किएको फोहर खसालेर नगरपालिकाले ठूलो लापरबाही गरेको स्थानीय रामबाबु कुमारले बताए । उनले पक्की सडक र नाला नभए पनि ग्रेभल खसालेर बाटो मर्मत गर्न माग गरे । ‘पक्की सडक र नाला निर्माण हुन्छ भन्ने आस त हामीलाई छदै छैन,’ रामबाबुले भने, ‘कम्तीमा फोहर हटाएर ग्रेभल खसाले बाटो पुनः प्रयोगमा आउन् सक्थ्यो । नगरपालिकाले ठूलो लापरबाही गरेको छ ।’ 

नालाबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्नुपर्नेको सट्टा सडकमा थुपारिँदा सो क्षेत्रमा बसोबासो गर्ने स्थानीयहरूको स्वास्थ्यमाथि पनि असर पर्ने युवा नेता चन्दन यादवको भनाई छ ।

सोही स्थानबाट अलि अगाडि निर्मित नालाको पानी थुनिँदा कृषकहरूलाई पनि क्षति बेहोर्नु परेको छ । नाला थुनिएर त्यहाँ जम्मा भएको फोहर खेतमा पस्दा क्षति पुगेको अर्का एक स्थानीयले बताए । नगरपालिकाले बजेट सिद्धाउन हतार हतारमा निर्माण गरेको नालाको उचित निकासी नहुँदा थुनिएको उनको आरोप छ ।

बहुदरमाई – २ का वडाध्यक्ष जितेन्द्र पटेलले पनि मेयरले लापरबाही गरेको आरोप लगाए । वडाध्यक्षसँग कुनै समन्वय नै नगरी मेयर तेलीले सडकमा ल्याएर फोहर थुपारेको उनले बताए । 

‘फोहर किन खसाएको भनेर प्रश्न गर्दा मेयर सा’बले कुनै जवाफ नै फर्काएनन् । फोहरमा रहेको सिसा लगायतले स्थानीयहरूलाई चोटपटक लाग्दा समेत उनलाई वास्ता छैन,’ वडाध्यक्ष पटेलले यात्रा डेलीलाई भने, ‘मेयरले मनमौजे हिसाबले काम गर्दा हामीलाई समेत सास्ती भइरहेको छ ।’

Back to top