वीरगञ्ज । हिन्दू र बौद्ध धर्मअनुसार मठमन्दिर, तीर्थ, धार्मिक स्थल तथा बस्तुहरूलाई घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्ने अभ्यासलाई कोरा वा प्रदक्षिणा भनिन्छ । धार्मिक अनुयायीहरूले कोरालाई भगवानसँगको आफ्नो आध्यात्मिक सम्बन्ध, भक्ति र श्रद्धा प्रकट गर्ने प्रतीकका रूपमा लिन्छन् । यसले उनीहरूलाई भगवानसँग जोडिएको अनुमति दिन्छ । त्यसैले मठमन्दिरमा श्रद्धालुहरू सुईको दिशामा परिक्रमा गरिरहेका हुन्छन् ।
वीरगञ्ज कोरा पनि यस्तै एउटा परिक्रमा हो । उद्देश्य उस्तै भए पनि यो पैदल नभएर साइकलमा गरिने परिक्रमा हो । ‘वीरगञ्ज कोरा’ मा साइकल चलाउँदै वीरगञ्ज र यस आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको परिक्रमा गरिन्छ ।
वीरगञ्जका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई अझै नजिकसँग बुझ्नुका साथै तिनीहरू प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले वीरगञ्ज कोरा सुरु गरिएको बताउँछन् आयोजक संस्था वीरगञ्ज साइक्लिङ ग्रुपका अध्यक्ष सञ्जय अग्रवाल । ‘२०२२ मा पहिलो पटक वीरगञ्जमा हामीले कोराको आयोजना गरेका थियौँ । यस पटक यसको दोस्रो संस्करणका रूपमा वीरगञ्ज कोरा – २०२३ आयोजना गर्दै छौँ ।’
अन्तर्राष्ट्रिय युवा दिवस साउन २७ गतेका दिन आयोजना भइरहेको वीरगञ्ज कोरामा एक सयभन्दा बढीले सहभागिता जनाउने सञ्जयको अनुमान छ । यहाँको सबैभन्दा पवित्र धार्मिक स्थलका रूपमा परिचित गहवामाई मन्दिर अगाडिको माइस्थान चोकबाट सुरु हुने कोराको परिक्रमा वीरगञ्जका विभिन्न स्थाल घुम्दै पुनः माइस्थान चोकमै आएर टुङ्गिने उनले जानकारी दिए ।
‘माइस्थानबाट सुरु हुने कोरा पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णो देवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर १५ किलोमिटर लामो यात्रा गर्दै अन्त्य हुन्छ,’ सञ्जयले भने ।
यस रुटमा वीरगञ्जको बस्ती मात्र नभएर यहाँका सम्पूर्ण धार्मिक, पर्यटकीय र अन्य महत्त्व बोकेका स्थानहरू हेर्न र अनुभव गर्न पाइने वीरगञ्ज साइक्लिङ ग्रुपका सचिव अनुप अग्रवालको भनाई छ । कोराको उद्देश्य यतिसम्ममा मात्रै सीमित नभएको अनुप बताउँछन् । ‘वीरगञ्जलाई स्वस्थ राख्दै साइक्लिङ मार्फत प्रदूषण नियन्त्रण गरौँ भन्ने सन्देश पनि हामीले दिन खोजेका छौँ,’ उनले भने ।
वीरगञ्ज सहर ट्राफिक समस्या र धुलो धुवाँसँग जुधिरहेको अवस्थामा कोराले वातावरणमैत्री साइकल अभियानलाई प्रवर्द्धन पनि गर्न खोजेको अनुपले बताए । ‘त्यस्तै हामीले साइक्लिङलाई बढावा दिन अनि खोजेका छौँ । सामान्य कामको लागि समेत मोटरसाइकल र गाडी भन्दा साइकलको प्रयोग बढी होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।
वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा भइरहेको वीरगञ्ज कोरा – २०२३ मा नेपाली युवा उद्यमी मञ्च, वीरगञ्ज, इम्प्रुभीङ् वीरगञ्ज, वीरगञ्ज युवा क्लब, हन्द्रेड्स ग्रुप, वुमन्स क्रिएसन र फोर जी आर समूह जस्ता संस्थाले पनि विशेष सहयोग गरेका छन् । यस्तै कार्यक्रमको मिडिया पार्टनरको रूपमा यात्राडेली डटकम र एड्स बी मिडिया प्रालि रहेका छन् ।
२०११ मा पहिलो पटक काठमाडौँबाट सुरु भएको कोरा हाल देशका लगभगका सम्पूर्ण मुख्य सहरहरूमा आयोजना गरिन्छ ।