×

वीरगञ्ज । महिला उद्यमीको सशक्तीकरण गर्ने उद्देश्यका साथ वीरगञ्जमा आयोजित एक दिने हाट बजार “समर फेयर २०२३” सम्पन्न भएको छ ।

विगत १८ वर्षदेखि महिला उद्यमीहरूलाई आफ्नो प्रतिभा, कौशल र उपलब्धिहरूलाई प्रदर्शन गर्न मञ्च उपलब्ध गराउँदै आएको वुमन्स क्रिएसन नामक संस्थाले वीरगञ्जस्थित दियालो लर्ड्स प्लाजा होटेलमा आयोजना गरेको एक दिने हाट बजारको १९ सौं संस्करणका रूपमा आयोजित “समर फेयर २०२३” आयोजना शनिवार सम्पन्न भएको हो ।

महिलाहरूको आत्मविश्वास बढाउँदै उनीहरूलाई आफ्नो लक्ष्य पछ्याउन सहयोग गर्नका लागि आयोजित समर फेयरको वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने उद्देश्यका साथ लगाइएको हाट बजारलाई एक दिनका लागि मात्र सीमित नगर्न सुझाव दिए ।

मेयर सिंहले भने, ‘वुमन्स क्रिएसनले आयोजना गरेको समर फेयर प्रशंसनीय प्रयास छ । तर यसलाई एक दिनका लागि सीमित गर्नुभएन, निरन्तरता दिनुपर्‍यो । वीरगञ्ज महानगरपालिकाले प्रत्येक महिनाको अन्त्यमा आयोजना गर्ने रात्रि बजारमा यसलाई विस्तार गरेर बढीभन्दा बढी उपभोक्तासम्म महिला उद्यमीहरूको उत्पादन र सेवालाई पुर्‍याउन अवसर दिनुपर्‍यो ।’ 

कार्यक्रमलाई होटेलभन्दा पनि खुल्ला स्थानमा गर्न मेयर सिंहले आयोजकहरूलाई सुझाव दिँदै भने, ‘तपाईँहरू यसलाई खुल्ला ठाउँमा आयोजना गर्नुस् । चाहिएको हरेक सहयोग महानगरपालिकाबाट मैले उपलब्ध गराउँछु । पूर्वाधारदेखि सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाको हुन्छ ।’

फेयरमा लगाइएका स्टलहरूको अवलोकन गर्दै उनले थपे, ‘घरभित्र रहेर पनि वीरगञ्जका दिदी बहिनीहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने किसिमको सामग्री र सेवाहरू उपलब्ध गराइरहनु भएको छ । यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने पर्छ ।’ 

वीरगञ्जका महिलाहरूमा रहेका यस्ता प्रतिभालाई ग्रामीण क्षेत्रका महिलामा रूपान्तरण गरेर उनीहरूलाई आत्मनिर्भर बनाउनु पर्नेमा उनले जोड दिए । ‘यसको लागि आवश्यक बजेटको व्यवस्थापन वीरगञ्ज महानगरपालिकाले गर्छ । तपाईँहरू प्रस्ताव लिएर आउनुस्,’ उनले भने ।

वुमन्स क्रिएसनकी अध्यक्ष हेमा अग्रवालले आगामी दिनमा संस्थाले मेयर सिंहका सुझावलाई मनन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन । उनले आउने दिनहरूमा वीरगञ्जमा लगाइने रात्रि बजारमा संस्थासँग जोडिएका महिला उद्यमीहरूले आफ्नो स्टल लगाउने बताइने । ‘मेयर सा’बले दिनुभएका सम्पूर्ण सुझावहरू अनुसार नै हामी अगाडि बढ्ने छौँ,’ उनले भनिन्, ‘उहाँले सुझाव दिए जस्तो हामीसँग भएको सिपलाई ग्रामीण महिलाहरूसम्म पुर्‍याउने योजना पनि हाम्रो छ ।’

फेयरको मुख्य लक्ष्य नै महिला उद्यमीहरूको उत्पादन गर्ने बस्तु र उपलब्ध गराउने सेवाका बारेमा प्रचार गर्ने रहेको बताउँदै उनले थपिन्, ‘फेयरले व्यवसाय गर्ने अवसर त दिन्छ नै, महिला उद्यमीहरूले आफै जस्तो व्यवसाय, सेवामा आबद्ध उद्यमीहरूसँग भेटाइदिने काम पनि गर्छ ।’ त्यसका साथै फेयरले नयाँ उद्यमी साथीहरू बनाउने, परामर्शदाता भेट्ने र एउटा सशक्त समूह बनाएर अगाडि बढ्ने अवसर पनि प्रदान गर्ने उनको भनाई थियो ।

महिला उद्यमीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको उत्पादन र सेवाको बजारीकरण गर्दै बढीभन्दा बढी उपभोक्ताको माझमा पुर्‍याउनु पनि फेयरले लक्ष्य लिएको उनले बताइन् । ‘वीरगञ्जमा पनि महिला उद्यमीहरू छन् र उनीहरूले गरेको व्यवसायलाई सहयोग गर्नुपर्छ भन्ने एउटा भावना सृजना गर्न पनि हामीले फेयर मार्फत सन्देश दिन खोजेका हौँ,’ उनले भनिन्  । फेयरमा महिला उद्यमीहरूले आफ्नो सफलताको कथा मार्फत अन्य महिलालाई पनि उद्यमशीलता तर्फ अग्रसर हुन् प्रेरित गर्ने उनको विश्वास थियो । 

फेयरमा कपडा, ह्याण्डीक्राफ्ट, घरायसी प्रायोजन, सजावटका सामग्रीलगायत भएका कूल ५० वटा स्टलहरू लगाइएको थियो । त्यस्तै विभिन्न परिकारका खाने कुरादेखि मनोरञ्जनात्मकता गतिविधि गर्ने किसिमका स्टलहरू पनि थिए ।

अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वुमन्स क्रिएसनकी संस्थापक अध्यक्ष पुनम अग्रवाल, नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरका पूर्व अध्यक्ष अनुप अग्रवाल, उद्यमी सञ्जय अग्रवाल, मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, सञ्चारकर्मी आशु कुमार सर्राफ, मुस्कान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Back to top