वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाले आर्थिक वर्ष अन्त्य हुनुभन्दा ठिक एक दिन पहिला नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आइतबार कालिकामाई गाउँपालिकाको कार्यालयमा आयोजित ९ औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष राजमती देव बरैनीले गाउँपालिकाले आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयमिक गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै कृषि पर्यटन र दिगो पूर्वाधारयुक्त विकासका मास्टर प्लान बनाएर अगाडि बढ्ने नीति लिएको बताइने ।
सडक र भौतिक पूर्वाधार विकासलाई आर्थिक समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उपाध्यक्ष बरैनीले गाउँपालिकाले सडक विस्तारलाई विशेष प्राथमिकता दिएको छ । जसअन्तर्गत गाउँपालिकाले प्रमुख सडकहरूलाई कम्तीमा नालासहित २६ फिट फराकिलो बनाउँदै सहायक सडकहरूलाई नालासहित १८ र साँगुरो बाटोहरूलाई एम्बुलेन्स जाने गरी आवश्यकता अनुसार विस्तार गर्ने योजना बनाएको छ । त्यस्तै गाउँपालिकाको प्रत्येक वडालाई जोड्न रिङ रोड निर्माणको सम्भाव्यता अध्ययन गर्ने गरिने उनले बताइन् ।
भौतिक, पूर्वाधार तथा संरचना विकासअन्तर्गत अतिक्रमणमा परेका जग्गाहरूको पहिचान गर्दै त्यसलाई संरक्षण गर्ने नीति लिएको छ । त्यस्तै एक गाउँ, एक बहु उपयोगी पोखरी निर्माण गर्ने, कृषकहरूको हकहितलाई ध्यानमा राखी गाउँ भित्र सिँचाइका निमित्त रहेका बाँध तथा पैनहरूलाई मुहान संरक्षण, मर्मत सम्भार तथा सिँचाई सुविधाका लागि सम्बन्धित निकायमा पहल गर्ने, गाउँ क्षेत्रका उपयुक्त स्थानमा भ्यु टावर निर्माणको सम्भाव्यता अध्ययन गर्ने नीति गाउँपालिकाले लिएको उनले बताइन् ।
“पवित्र, सुन्दर, समृद्ध कालिकामाई” भन्ने नारालाई सार्थक तुल्याउन गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त बनाउन खुला दिशामुक्त सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी गाउँपालिकालाई पूर्ण दिशामुक्त क्षेत्र घोषणा गर्दै कालिकामाईलाई नमुना गाउँपालिकाको रूपमा स्थापित गरिने उनले बताइन ।
यस्तै गाउँपालिकाका छात्राहरूलाई शिक्षा तर्फ आकर्षित गर्न आठ कक्षामा पढ्ने छात्राहरूलाई नि:शुल्क साइकल वितरण गर्ने योजना पनि गाउँपालिकाले बनाएको उनले सुनाइन । त्यस्तै प्रत्येक विद्यालयमा आइटी विकास गर्न कम्प्युटर र प्रिन्टर उपलब्ध गराइने, गाउँ सेवाबाट उत्कृष्ट नतिजा ल्याउने शिक्षण संस्था तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गरिने, खेलकुदको विकासका लागि प्रत्येक वडामा एउटा खेल मैदानको व्यवस्थापन गरिने उपाध्यक्ष बरैनीले बताइन ।
आगामी आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिएको छ । त्यसका लागि १५ बेडको अस्पताल स्थापनाका लागि पहल गर्नेदेखि सम्पूर्ण वडामा पहिलादेखि रहेका स्वास्थ्य चौकीहरूलाई सुविधा सम्पन्न बनाउने योजना गाउँपालिकाले बनाएको छ । यस्तै कृषि क्षेत्रका लागि पनि गाउँपालिकाले बनाएका विभिन्न योजनाहरूका बारेमा उपाध्यक्ष बरैनीले जानकारी गराएकी थिइन् ।
गाउँपालिका अध्यक्ष वसिष्ठकुमार कलवारले विगतका अनुभवबाट सिक्दै आगामी आर्थिक वर्षमा गाउँपालिकालाई विवादरहित बनाएर विकास निर्माणका कामलाई प्राथमिकता दिइने बताए । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नामोनाथ यादवले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूले मिलेर काम गर्न सके विकासको लहर ल्याउन सकिने बताए ।
कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।