×

वीरगञ्ज । सरसफाइ र स्वच्छता अभियान चलाएर चौतर्फी तारिफ बटुलिरहेका वीरगञ्जका नेतृत्वकर्ता नगरप्रमुख (मेयर) राजेशमान सिंहमाथि एक जना वडाध्यक्षले गम्भीर आरोपहरू लगाएका छन् ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह (पराग) ले महानगरपालिका कार्यालय भागबन्डाको खेलमैदानमा परिणत भएको बताउँदै मेयर सिंहमाथि विभिन्न आरोपहरू लगाएका हुन् । 

सामाजिक सञ्जाल मार्फत एउटा पोस्ट साझा गरेर परागले महानगरबाट वडा अपहेलित हुँदा त्यसको सिकार वडाध्यक्ष बन्नुपरेको दुखेसो पोख्दै महानगरपालिका कार्यालय भागबन्डाको खेल मैदान बनेको बताएका छन् ।

परागले महानगरभित्र मौलाएका विभिन्न विकृतिहरूको खुलासा गर्दै लेखेका छन्, ‘भागबन्डाको खेलमैदान बन्दै महानगर ! महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडाध्यक्ष । महानगरमा भाग दौड भन्दा भागबन्डा बढी ।’

महानगरले वडासँग समन्वय नै नगरी आफूखुसी वडामा कामको तामेली गर्दा वडावासीले आफूसँग प्रश्न गर्ने गरेको उनले बताएका छन् । उनका अनुसार महानगरले कृषकहरूका लागि आएको मल २० दिनसम्म रोकेर भागबन्डाको आधारमा वितरण गरेको छ । 

त्यस्तै महानगरका कारण कृषकहरू पीडित भएको उनले आरोप लगाएका छन् । कृषकहरूसँग फारम भराइ सिफारिसका लागि दस्तुरसमेत तिराएर महानगरले हालसम्म पनि उनीहरूलाई विषादी छर्ने ट्याङ्की, चाप कटर, दूध ट्याङ्की, त्रिपाल, मोटर र दमकल वितरण नगरेको उनको भनाई छ ।

त्यस्तै महानगरबाट गोप्य टेन्डर हुने गरेको, ठेक्का र टेन्डर सम्बन्धी सूचना जनस्तरमा पहुँच नभएको पत्रपत्रिकामा प्रकाशित हुने नगरेको, इबीडीङ् मार्फत प्रतिस्पर्धा गरेर आएका ठेकेदारलाई महानगरले हैरान गर्ने गरेको, मलको कोटा हेरफेर भएको, योजना अनुगमन राम्ररी नभएको, न्यायिक समिति मार्फत भएका छलफलको पारदर्शिता कायम नभएको, अपाङ्गता परिचयपत्र वितरण जस्ता संवेदनशील विषयमा ढिलाइ भइरहेको, मासिक बैठक नबस्ने गरेको, वडाको बजेट सिलिङ नबढाएर नगर स्तरीय बजेट बढ्दै गएको, कार्यपालिका बैठकमा गरिएका निर्णयहरू पालना नभएको, बैठकमा जनप्रेमी र जनहितका निर्णयहरू नहुने गरेको, कर्मचारीहरूले आफ्नो कार्यको जिम्मेवारी समय र सही ठाउँबाट प्रवाह नगरेको, हालसम्म पनि विकास समितिको कार्यालय स्थापना नभएको जस्तो आरोपहरू परागले जनाएका छन् ।

उनले महानगर ठेकेदारहरूले भरिएको बताउँदै त्यहाँ भाग लगाउने काम मात्र भइरहेको बताएका छन् ।

Back to top