वीरगञ्ज । दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पैसा फिर्ता नगरेको बचतकर्ताहरुले गुनासो गरेका छन् ।
काठमाडौँ जिल्लाको ललतिपुर महानगरपालिकास्थित कुमारीपाटीमा केन्द्रीय कार्यालयको शाखाका रुपमा वीरगञ्ज महानगरपालिका – ६ स्थित सर्राफ मार्केटमा सञ्चालित दैनिक वचत तथा ऋण सहकारी संस्थाले विगत ६ महिनादेखि सयौं बचतकर्ताको करोडौँ रकम फिर्ता नगरेको बचतकर्ताहरुले गुनासो गरेका हुन् । विभिन्न बहाना बनाउँदै पैसा फिर्ता गर्न सञ्चालकहरुले आनाकानी गरिरहेको बचतकर्ता बताउँछन् ।
पैसा फिर्ता माग्न सहकारी पुग्दा अधिकांश समय कार्यालय बन्द रहने गरेको एक बचतगर्ताले यात्राडेलीलाई बताए । ‘चार महिना भयो हामीले जम्मा गरेको पैसा फिर्ता पाएका छैनौं,’ बचतकर्ता शुधान्शु बरनवालले भने, ‘गत वर्ष होलीकै बेला पैसा फिर्ता गर्छु भनेका सञ्चालकहरुले आजसम्म पनि पैसा फिर्ता गरेको छैन । अहिले त कार्यालय नै खुल्न छाडी सक्यो ।, फोन गर्दा फोन पनि उठाउँदैनन् ।’
प्रत्येक दिन थोरैथोरै गरेर जम्मा गरिएको पैसा आवश्यकता पर्दा फिर्ता नपाएपछि बरनवाललगायत सयौं बचतकर्ताहरुले जम्म्गा गरेको लाखौँ रकम डुब्ने भय सृजना भएको छ । देशभरका ठूलाबडा सहकारी संस्थाका सञ्चालकसमेतले बचतकर्ताको करोडौँ पैसा लिएर भागिरहेको अवस्थामा दैनिक बचत सहकारी पनि भाग्ने होकी भन्ने उनीहरुको आशंका छ ।
सहकारीको गतिविधि हेर्ने जिम्मेवारी पाएको वीरगञ्ज महानगरपालिकाअन्तर्गत सहकारी शाखाका प्रमुख सुनिल कर्णले पनि दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ताले उजुरी दिएको बताए । ‘पैसा फिर्ता गरेन, पटकपटक समय थप्यो भन्ने किसिमको हामी कहाँपनि मौखिक गुनासो आएको छ,’ कर्णले यात्राडेलीलाई भने, ‘तर, लिखित नआएकोले हामीले कारवाही गर्न सकिरहेका छैनौं ।’ कम्तिमा पनि २० जना बचतकर्ताहरुले लिखित उजुरी दिए आफूहरुले आधिकारिक रुपमा अनुसन्धान थालेर कारवाही गर्न सकिने कर्णले बताए । उनकाअनुसार अन्य धेरै सहकारीविरुद्ध पनि उजुरी परेको छ ।
बचतकर्ताले गरेको गुनासोका विषयमा बुझ्न सर्राफ मार्केटस्थित सहकारी पुग्दा कार्यालयको मूल ढोकामा ताल्चा लगाइएको थियो । सहकारीसँगै रहेको कन्सल्टेन्सीका कर्मचारीले महिनौँदेखि कार्यालय नखुलेको बताए । सहकारीका वीरगञ्ज शाखा प्रमुख रुपेश पटेललाई (९८०९१४०९२४) मा पटकपटक सम्पर्क गर्न खोज्दापनि उनले फोन उठाएनन् ।