×

फाइल तस्विर ।

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा अनावश्यक खर्च बढ्दै गएको देखिएको छ । गाउँपालिकाले एक वर्षको अवधिमा जनताको करबाट उठेको झन्डै ५३ लाख रुपैयाँ अनावश्यक र अनुत्पादन शिर्षकमा खर्च गरेको भेट्टिएको छ ।

महालेखापरीक्षकको कार्यालय सार्वजनिक गरेको कालिकामाई गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लेखापरिक्षणको प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले एक वर्षको अवधिमा अनुगमन, मूल्याङ्कन, भ्रमण, विविध र सवारी साधन मर्मतमा मात्रै ५२ लाख ८२ हजार ८८१ रुपैयाँ खर्च गरेको छ ।

लेखापरिक्षणको प्रतिवेदनअनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीले विभिन्न स्थानमा अनुगमन तथा मूल्याङ्कन वापत १४ लाख ६२ हजार ४६५ र भ्रमण खर्च वापत १ लाख गरी कूल १५ लाख ६२ हजार ४६५ रुपैयाँ बुझेका छन् । पदाधिकारी र कर्मचारीले यसरी भत्ता बुझ्दा त्यसको अभिलेख भने व्यवस्थित ढङ्गले राखेका छैनन् । 

भ्रमण अभिलेख एवम् प्रतिवेदन: भ्रमण खर्च नियमावली, २०६४ मा आफू कार्य क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सके ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम दिन सकिने र  नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले अनुसूची–६ बोजोजिम ढाँचामा भ्रमण अभिलेख राख्नुपर्ने नियम उल्लेख रहेपनि नियमावलीमा भने बमोजिम पदाधिकारी र कर्मचारीहरुले अभिलेख तथा भ्रमण प्रतिवेदन बेगर भ्रमण खर्च लेखेको भेट्टिएको छ ।

पदाधिकारी र कर्मचारीले यसरी नियमावली बमोजिम अभिलेख नराख्दा भ्रमण नै नगरेर भत्ता मात्रै बुझेको आशङ्का बढेको छ । त्यसमाथि गाउँपालिकामा एक ठाउँबाट अर्को ठाउँ जाँदा एक दिनमै फर्किन सकिने सडक पूर्वाधार र कर्मचारी र पदाधिकारीहरुसँग सवारीसाधन रहेपनि अनावश्यक रुपमा पैसा कमाउँन पनि उनीहरुले भ्रमण भत्ता बुझेको स्पष्ट हुन्छ । महालेखापरीक्षकको कार्यालयले गाउँपालिका कार्यालयलाई यस्ता अनुत्पादक र अनावश्यक खर्च नियन्त्रण गर्दै नियामावली पालना गर्नुपर्ने सुझाव दिएको छ ।

त्यसतै कालिकामाई गाउँपालिकाले एक वर्षको अवधिमा विविध खर्चमा मात्रै २२ लाख भन्दा बढी रकम सकाएको छ । खाना, खाजालगायतमा हुने यस्ता विविध खर्चमा २२ लाख २४ हजार ४०९ रुपैयाँ सकाउनु पनि अनावश्यक र अनुत्पादक खर्च हो । 

महालेखा परीक्षकको कार्यालयले पनि गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रमको सन्दर्भमा कार्यक्रममा सहभागी हुनेलाई खाना र खाजाको दर तोकेको भएतापनि अन्य अवस्थामा त्यस्तो खर्च कसरी गर्ने वा नगर्ने सम्बन्धि कुनै निर्यण नै नगरी खर्च गरेको, बिल बिजक भौचर पेश गरेपनि खर्चको प्रायोजन र औचित्य तथा आधार पुष्टि गर्न नसकेको जनाएको छ । यसर्थ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले खाना र खाजामा मनपरी तरिकाले अनावश्यक खर्च गरेको पुष्टि हुन्छ । विगतलाई हेर्दा नक्कली विल बनाएर बजेट कुम्ल्याउन पनि यस्तो शिर्षकबाट खर्च गरिएको प्रमाणहरु फेला परेका छन् । महालेखापरिक्षकको कार्यालयले यहाँपनि गाउँपालिका कार्यालयले सुधार गर्न सुझाव दिएको छ ।

यस्तै सवारीसाधन मर्मतमा मात्रै गाउँपालिकाले १४ लाख ९६ हजार ७ रुपैयाँ खर्च गरेको भेट्टिएको छ । एक वर्षको अवधिमा सवारीसाधन तथा उपकरणमा खर्च भएको यो रकमको खर्च गर्दा नियम पालना गरेको देखिदैँन ।

Back to top