फाइल तस्विर ।
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै साढे २४ लाख रुपैयाँ खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यलायले सार्वजनिक गरेको ठोरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक लेखापरिक्षणको प्रतिवेदनअनुसार गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मार्फतमा मात्रै २४ लाख ४० हजार ७०९ रुपैयाँ खर्च गरेको हो ।
कर्मचारीले प्रयोग गर्ने १२ थान मोटरसाइकल, दुई थान ट्रीपर, एक/एक थान एक्साभेटर, ब्याकलोडर, रोलर, ट्याक्टर र भार पाङ्ग्रे टाटा योद्धा गाडीलगायत ३६ वटा सवारी मर्मतका लागि गाउँपालिका कार्यालयले उक्त रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले यसरी औसतमा एउटा सवारीसाधन मार्फत गर्न झन्डै एक लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।
‘पालिकाले उपलब्ध गराएको विवरणअनुसार ३६ सवारीसाधनको लागि मर्मत खर्च २४ लाख ४० हजार ७०९ गरेवापत एभरेजमा एउटा सवारीको लागि ९७ हजार ६२८ रुपैयाँ मर्मत खर्च भएको देखिएको,’ महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवाली, २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरी संरक्षण गर्ने र तिनीहरुको राम्रो सम्भार गरी वा चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुन्छ । सोही बमोजिम कार्यालयमा रहेका चल्ती जिन्सी मालसामान मर्मत गर्नुपर्ने भएमा कार्यालय प्रमुखबाट मर्मत आदेश स्विर्कित गराइ मर्मत गरी खर्च लेख्ने र सोको मर्मत अभिलेख तयार गरी राख्नुपर्दछ । तर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीले समेत नियम पालना गरेको देखिँदैन ।
गाउँपालिकाले गरेको यस्तो अव्यवस्थित खर्चलाई नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।