वीरगञ्ज । इम्पिरियल कलेजले छात्रवृत्ति पाएका विद्यार्थीसँग अनावश्यक शुल्क मागेको आरोप लागेको छ ।
वीरगञ्ज महानगरपालिकाबाट कक्षा ११ र १२ पढ्नका निमित्त पूर्ण नि:शुल्क छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीसँग वीरगञ्ज महानगरपालिका – ११ श्रीपुरस्थित इम्पिरियल कलेज (ओसिस माध्यमिक विद्यालय) ले अनावश्यक शुल्क माग गरेको आरोप लागेको हो ।
यात्राडेलीको सम्पर्कमा आएको एकजना विद्यार्थीअनुसार कलेजले उनीसँग मासिक शुल्कको आधा रकम बुझाउनुपर्ने माग गरेको छ । त्यसकासाथै कलेजले लाइब्रेरीलगायत अन्य शिर्षकमा समेत पूर्ण नि:शुल्क छात्रवृत्ति पाएका विद्यार्थीसँग पैसा लिरहेको नाम नखुलाउने सर्तमा ती विद्यार्थीले बताए ।
‘कलेजले मसँग आधा शूल्क तिर्नुपर्ने भन्दै १० हजार रुपैयाँ माग गरेको छ । छात्रवृत्ति पाएको विद्यार्थी हुँ भन्दापनि तिर्नेपर्ने बताउँदै आएको छ,’ विद्यार्थीले यात्राडेलीलाई भने, ‘मैले लाइब्रेरी शुल्क वापत हालसम्म ४५ सय रुपैयाँ तिरिसकेको छु । कलेजले मसँग अझै ६५ सय रुपैयाँ मागी रहेको छ ।’
वीरगञ्ज महानगरपालिकाले छात्रवृत्तिका लागि छनौट परिक्षा लिँदै कक्षा ९/१० र ११/१२ मा पढ्ने जहेन्दार र अतिविपन्न विद्यार्थीलाई यहाँका विभिन्न स्कूलमा छात्रवृत्ति प्रदान गरेको थियो । हाम्रो सम्पर्क आएका विद्यार्थीले पनि सोही परिक्षा मार्फत छनौट भएर छात्रवृत्ति प्राप्त गएका छन् ।
छनौट प्रक्रिया मार्फत छात्रवृत्ति पाएका विद्यार्थीसँग स्कूलले राष्ट्रिय परिक्षा बोर्डले तोकेको बाहेक अन्य कुनै शूल्क लिन नमिल्ने वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाका अधिकृत हरि राउतले बताए । ‘छात्रवृत्ति पाएका विद्यार्थीसँग कलेजहरुले शुल्क लिरहेको हामीकहाँ पनि गुनासो आएको छ । त्यस्ता शैक्षिक संस्थासँग स्पष्टिकरण सोध्ने हामीले तयारी गरिरहेका छौँ,’ राउतले भने । उनले शुल्क माग्ने स्कूल बारे वीरगञ्ज महानारपालिकामा आएर गुनासो गराउन विद्यार्थीहरुसँग आग्रह गरे ।
महानगरले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दा उपलब्ध गराएको पत्रमा पनि कक्षा ११/१२ मा पूर्ण नि:शुल्क छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस गरिएको उल्लेख छ । ‘पुनश्चः पूर्ण नि:शुल्क छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, मासिक शुल्क तथा परीक्षा शुल्क (राष्ट्रिय परीक्षा बोर्डले तोकेको बाहेक) सुविधा उपलब्ध हुने व्यहोरा अनुरोध छ,’ विद्यार्थीले पाएको पत्रमा उल्लेख गरिएको छ ।
यता, कलेजका प्रधानाध्यापक राकेश गुप्ताले छात्रवृत्ति पाएको विद्यार्थीसँग अनावस्यक शुल्क माग गरिएको आरोपलाई अस्विकार गरे । ‘छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीसँग हामीले कुनै अनावश्यक शुल्क माग गरेका छैनौँ । लाइब्रेरी फी लिएका छौँ, बाँकी परिक्षा दर्ता शुल्क वापत वर्षमा दुई पटक ७/७ गरेर १४ सय रुपैयाँ लिन्छौं । अन्य शुल्क मागिएको भनेर लागेको आरोप निराधार हो ।’ आफ्नो कलेजले शुल्क नलिएपनि वीरगञ्जका अन्य शैक्षिक संस्थाले छात्रवृत्ति पाएका विद्यार्थीसँग २५ हजार रुपैयाँसम्म शुल्क लिरहेको उनले उल्टै आरोप लगाए ।
यद्यपि हामीसँग सम्पर्कमा आएका विद्यार्थीको कलेजले लाइब्रेरी र परिक्षा दर्ता बाहेक पनि शुल्क माग गरेको दावी छ ।