×

फाइल तस्विर ।

वीरगञ्ज । मधेश प्रदेशका पूर्व प्रदेश सांसद् प्रह्लाद गिरी गोश्वामीले फेरी पार्टी परिवर्तन गरेका छन् । यसपटक उनले डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् । 

शनिबार वीरगञ्जमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमका विच माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) त्याग्दै गिरी जनमतमा गएका हुन् । उनलाई जनमतका अध्यक्ष डा. सिके राउतले फूलमाला लगाएर स्वागत गरेका छन् ।

गत प्रतिनिधि तथा प्रदेशसभा (आम) निर्वाचनमा गिरी पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए । निर्वाचन पूर्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका गिरी गठबन्धनका कारण टिकट नपाएपछि हत्तारहत्तारमा नेकपा एस प्रवेश गर्दै निर्वाचनमा होमिएका थिए । 

गिरीलाई जिल्लावासीले दलबदलुको संज्ञा दिने गरेका छन् । निर्वाचनपिच्छे पार्टी परिवर्तन गर्ने उनको प्रवृतिका कारण उनले यो पदवी पाएका हुन् । हालसम्म गिरी नेपाली कांग्रेस बाहेक राष्ट्रिय स्तरको राजनीतिमा रहेका लगभग सबै ठूला साना दलमा प्रवेश गरिसकेको इतिहास छ । 

विक्रम सम्वत् २०७४ को आम निर्वाचन पूर्व गिरी उपेन्द्र यादव नेतृत्वको तत्कालिन सङ्घीय समाजावादी फोरम नेपाल प्रवेश गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । जनता माझ अवसरवादी र पार्टी परिवर्तन गरिरहने छवी बनाएका गिरी मधेश आन्दोलनको लहर उठेको बेला निर्वाचित भएको राजनीतिक विश्लेषक बताउँछन् । प्रदेशमा सरकार गठन हुनेबेला मुख्यमन्त्रीको दावी गरेका गिरीले पाँच वर्षे कार्यकालमा एउटा राज्यमन्त्री पनि पाएनन् ।
 
सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा गिरीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समजावादी पार्टी (लोसपा) रोजेका थिए ।

यस्तो छ गिरीको राजनीति इतिहास

गिरी कम्युनिष्ट आन्दोलनबाट राजनीतिमा आएका व्यक्ति हुन् । नेकपा एमालेबाट सक्रिय राजनीति सुरुवात गरेका गिरीले २०५१ मा एमालेबाट संसद्को निर्वाचन लडे । तर, उनि पराजित भए । त्यसपछि उनले २०५८ सालमा एमाले परित्याग गर्दै स्व. सलीम अन्सारीको समाजवादी पार्टीमा प्रवेश गरे । केही समय त्यहाँ बसेर उनि कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा गए । राप्रपा मार्फत राजा र राजतन्त्रको पक्षमा वकालत गर्दागर्दै उनले अचानक त्यो पार्टी पनि त्यागे ।  

राप्रपापछि उनि अलग देश बनाउने आन्दोलन गरिरहेको भूमिगत गोइत समूहमा लागे । गोइतसँगको उनको साझेदारी लामो समयसम्म चलेन । गिरीले आफ्नै नेतृत्वमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत समूहको सुरुवात गरे । मोर्चामा “पवन” नामले चिनिएका गिरीले त्यसताका व्यपारीहरुलाई धम्क्याउँदै चन्दा आतङ्क मच्चाएको आरोपसमेत लाग्ने गरेको छ । गिरीको मोर्चा पनि धेरै दिनसम्म चल्न सकेन । नेकपा एमालेकै नेताहरुले गरेको पहलमा उनि शान्ति वार्तामा फर्किए र गणतान्त्रिक तराई मुक्ति मोर्चाको अन्त्य भयो । 

भूमिगतबाट बाहिर आएका गिरीले गणतन्त्र नेपालसँग बिचार मिल्ने पार्टी माओवादी हो भन्दै प्रचण्डको नेतृत्वमा आफ्नो राजनीतिक यात्रा अगाडी बढाए । २०७० को संविधानसभाको निर्वाचनमा उनि फेरी माओवादीबाट लडे र एमालेका राजकुमार गुप्तासँग पराजित भए । पराजय पश्चात गिरीले प्रचण्डको पनि साथ छाडे र फेरी एमालेमै फर्किए । २०७४ को स्थानीय तह निर्वाचन अगाडिसम्म उनि एमालेमा रहिरहे ।

तर, एमालेले मधेशी जनतासँग धोका गरेको भन्दै गिरी पहिलो स्थानीय तहको निर्वाचनभन्दा केहि दिन अगाडि फेरी पार्टी परिवर्तन गर्दै उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालमा लागे । संविधानलाई संसोधन गराउँदै मधेशी जनताको अधिकार फोरमले मात्र दिलाउने भन्दै उनले फोरममा प्रवेश गरेका थिए । त्यसपछि सङ्घीय समाजावादी फोरम नेपालबाट नयाँ शक्तिसँग मिलेर बनेको समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी नेपाल र त्यो टुक्रिएर बनेको लोसपासँग आबद्ध थिए । गिरीले गत आम निर्वाचन अगाडि लोसपा पनि त्यागे र फेरी आफ्नो सबैभन्दा पूरानो घर नेकपा एमालेमै फर्किए ।

एमालेबाट चुनाव लड्ने तयारी गरिरहेका गिरीको लागि जसपा-एमाले गठबन्धन बाधा बन्न पुग्यो । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) गठबन्धनअन्तर्गत जसपाको कोटामा परेपछि हत्तारहत्तारमा एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एसबाट टिकट लिएर उनि चुनावी मैदानमा उत्रिए । तर, मतदाताले यसपटक उनलाई पत्याएनन् । निर्वाचन पश्चातपनि नेकपा एसमै सक्रिय रहेका उनले आज त्यो पनि त्याग्दै जनमत पार्टी प्रवेश गरेका छन् ।

Back to top